विराटनगर । मोरङको २४ वर्षीय एकजना स्टाफ नर्सलाई जबर्जस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिकाका वडा सदस्य पुर्पक्षका लागि जेल चलान भएका छन् ।
बेलबारी–२ का २६ वर्षीय विजय तोलाङ्गी बिहीबार पुर्पक्षका लागि जेल चलान भएका हुन् । मोरङ अदालतका न्यायाधीश मोहन सुवेदीको इजलाशले तोलाङ्गीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । अदालतको आदेशपछि पुर्पक्षका लागि तोलाङ्गी मोरङ कारागार चलान भएका छन् ।
बलात्कार आरोपमा पक्राउ परेका तोलाङ्गी बेलबारी नगरपालिकाको कार्यपालिका सदस्य हुन् । उनी नेपाली काङ्ग्रेसबाट कार्यपालिका सदस्यमा निर्वाचित भएका थिए । उनले २४ वर्षीय नर्सलाई मोरङको जेफालेमा लागेर साउन १८ गते बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय बेलबारीमा ‘जबरजस्ती करणी मुद्दा’ मा उजुरीमा दिएकी थिइन् ।
उजुरी दिएपछि तोलाङ्गी फरार थिए । कानून व्यवसायीसँग कानूनी सल्लाह लिएपछि उनी २६ मङ्सिरमा इप्रका बेलबारीमा आफैँ हाजिर भएका थिए । प्रहरीले अनुसन्धान पूरा गरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएपछि बुधबार मोरङ अदालतमा अभियोग दायर भएको थियो ।