विराटनगर । मोरङको बेलबारी नगरपालिका–५ का ३८ वर्षीय चन्द्रबहादुर राईको हत्या घटनामा मोरङ अदालतको फैसलालाई पीडित परिवारले अनपेक्षित भनेका छन् । कर्तव्य ज्यानका मुख्य आरोपीलाई मतियार बनाई छाडेकाले आफूहरू थप अन्यायमा परेका पीडित परिवारले बताएका छन् । 

कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग गरी दुई मुद्दामा २० जना प्रतिवादी भए पनि पक्राउ परेका १४ जनाको हकमा मोरङ अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजलाशले फैसला गरेको हो । ६ जना प्रतिवादी फरार रहेकोले उनीहरूको हकमा मुद्दा मुलतवीमा रहेको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । यो मुद्दाको कसूर ठहर पुस ३ गते भएको थियो भने कैद निर्धारण बिहीबार भएको सूचना अधिकारी बुढाथोकीले बताए । कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा एकजना प्रतिवादीलाई मात्र कर्तव्य ज्यान मुद्दा ठहर गर्दै जन्मकैदको फैसला गरेको छ । मतियार बनाएको पाँच जनालाई दुई वर्ष कैद र ९ जनालाई सफाइ दिएको हो । अदालतले विनयकुमार सरदारलाई जन्मकैदको बिहीबार सजाय निर्धारण गरेको  छ । ज्यान मार्ने उद्योग मुद्दामा पनि सरदारलाई ३ वर्ष कैद र ३ हजार जरिबाना तोकेको छ । मृतक परिवारलाई १ लाख क्षतिपूर्ति र घाइते भएका समुन्द्र राईलाई प्रतिवादी सरदारमार्फत ३ लाख ७० हजार ४ सय ८ रुपैयाँ क्षतिपूर्ति दिलाउन अदालतले फैसला गरेको छ । राजेन्द्र राई थुलुङ, विशालकुमार खवास, वीरेन्द्रकुमार खाँ, दिपेन्द्र भन्ने दिपेनकुमार चौधरी र केके भन्ने कृष्णकुमार चौधरीलाई कर्तव्य ज्यान मुद्दाबाट सफाइ दिएर मतियार ठहर गर्दै दुई वर्ष मात्र कैद सजाय बिहीबार निर्धारण गरेको छ । दुई वर्ष कैद सजाय पाएका पाँचजना प्रतिवादीले कैद भुक्तान गरिसकेकोले उनीहरू थुनामुक्त हुनेछन् ।

यसै गरी यानब राई, बलराम चौधरी, राजेन राई, अनोजकुमार माझी, प्रेम चौधरी, जितेन्द्रकुमार चौधरी, होमनारायण धामी, यक्षकुमार चौधरी र निनल खवासले सफाइ पाएका छन्  । सफाइ पाएकामध्ये माझीको मृत्यु भइसकेको छ । फरार रहेका प्रभात चौधरी, दिनेश चौधरी, अशोक खवास, शम्भु भन्ने दिनेश मास्के, कचाल भन्ने गीतार खवास र दिपु खवास फरार रहेकोले उनीहरूको हकमा मुद्दा मुलतबीमा राखिएको छ । दुई वर्ष कैद सजाय फैसला गरेको केके भन्ने कृष्णकुमारलाई प्रहरीले घटनाको मुख्य अभियुक्त भन्दै पक्राउ गरेको थियो । ०७७ भदौ १२ गते बेलबारी–५ कसेनी लोहन्द्रा खोलामा केकेसहितको समूहले धारिलो हतियार प्रहार गरेर चन्द्रबहादुरको हत्या गरेका थिए भने समुन्द्र राई, सहिकुमार राई र गौरव राई घाइते भएका थिए । त्यसबेला केकेको कारणले विवाद भई झडपको अवस्था सिर्जना हुँदा चन्द्रबहादुरको हत्या भएको थियो । चन्द्रबहादुरको हत्यापछि केके फरार भएका थिए । हत्या भएको ११ महिनापछि केकेलाई मोरङ प्रहरीको सादा पोसाकमा खटिएको टोलीले सुन्दरहरैंचा नगरपालिकाको बाँसबारीदेखि पक्राउ गरेको थियो । चन्द्रबहादुरको हत्यापछि मोरङ प्रहरीले ७ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका जितेन्द्रकुमार चौधरी, विशालकुमार खवास, वीरेन्द्रकुमार खाँ, दिपेन्द्रकुमार चौधरी, राजेन्द्र राई थुलुङ, थानु भन्ने यानु थुलुङ र विनयकुमार सरदारसहित फरार भएका १३ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा २०७७  असोज ६ गते कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको थियो । थुनछेक बहस सकिएपछि मोरङ अदालतका तत्कालीन न्यायाधीश तेजबहादुर खड्काको इजलाशले ०७७ असोज ९ गते जितेन्द्रकुमार चौधरीलाई ४ लाख र ज्ञानु भन्ने ज्ञानव थुलुङ राई २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो भने अन्य पाँचजना विनयकुमार सरदार, राजेन्द्र राई, दिपेन्द्र चौधरी, वीरेन्द्रकुमार खाँ र विशालकुमार खवास पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । 

फैसलाप्रति असन्तुष्टि 

मृतकका दाजु धनबहादुर राईले अदालतको फैसलाबाट पीडामा परेकाहरू थप पीडित बन्नुपर्ने अवस्था आएको गुनासो पोखे । 

घटनामा संलग्नलाई अपराधबाट चोख्याउने काम भएकाले न्यायकर्ताबाट नै थप अन्याय र पीडा महसुस भएको उनको दुःखेसो छ । ‘के कुन प्रभावका कारण अपराधीलाई चोख्याइयो र हामी पीडितमाथि थप अन्याय गरियो भन्ने कुराको छानबिन गरेर न्यायका लागि आवाज उठाइदिन सबैसामु आग्रह गर्छु,’ धनकुमारले भने । घाइतेमध्ये भाइ समुन्द्रसहित उपस्थित भएर उनले पत्रकार सम्मेलन गरेका हुन् । समुन्द्रको टाउकाको शल्यक्रिया गरेर हड्डी निकालिएको छ । उक्त हड्डी देखाउँदै धनकुमारले भने, ‘भाइहरू र भतिजको उपचारमा ७ लाख रुपैयाँभन्दा बढी खर्च भयो । ऋण गरेर उपचार गरियो । कसैले पनि सहयोग गरेनन् । पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले ज्यालामजदुरी गरेर जीविका चलाउनुपर्ने हाम्रो बाध्यता छ ।’ उनका अनुसार घटनापछि पीडक पक्षबाट अनेक धम्की खेप्नु परेको बताए ।

‘पैसाको प्रलोभन देखाउँदै मुद्दा फिर्ता दिन दबाव दिए । नमानेपछि धम्की दिन थाले,’ उनले भने, ‘अहिले अदालतको फैसला पनि पीडककै पक्षमा आइदियो । थप उपचारका लागि रकम जुटाउन समस्या भइरहेको छ ।’

कुनै पनि मुद्दाको फैसलामा चित्त नबुझेमा फैसलाको पूर्णपाठ आइसकेपछि सरकारी वकिलमार्फत माथिल्लो अदालतमा पुनरावेदन गराउन पाउने अधिकार पीडितलाई छ । धनकुमारले कानूनी व्यवस्था अनुसार मोरङ जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन गर्नका लागि सरकारी वकिललाई आग्रह गरिने बताए । 

५७ टाचा लगाएको सुमन्द्रको उपचारमा समस्या 

०७७ भदौ १२ गते बेलबारी–५ कसेनी लोहन्द्रा खोलामा केके भन्ने कृष्णकुमार चौधरीसहितको समूहले धारिलो हतियार प्रहार गरेर चन्द्रबहादुरको हत्या गरेका थियो भने समुन्द्र राई, सहीकुमार राई र गौरव राई घाइते भएका थिए । घाइतेमध्ये समुन्द्र गम्भीर बनेका थिए । उनको टाउकोमा बन्चरो प्रहार गरेको कारणले गहिरो चोट लागेको थियो । विराट टिचिङ्ग हस्पिटलमा टाउकोमा ५७ टाँचा लगाएको थियो । मतिष्कभित्र हड्डी पसेपछि त्यसलाई निकालेको थियो । हड्डी निकालेको ठाउँमा स्टिल लगाउनुपर्ने चिकित्सकले सल्लाह दिएको मृतकका दाजु धनबहादुर राईले बताए ।

अदालतले पनि उपचार खर्च ३ लाख ७० हजार ४ सय ८ रुपैयाँ भराइदिन फैसला गरेको उनले सुनाए । ‘६ लाख रुपैयाँ उपचार खर्च भएको बिलसहित प्रमाणमा हामीले पेश गरेका थियौं,’ उनले भने, ‘फैसला आउँदा ३ लाख ७० हजार ४ सय ८ रुपैयाँ आएको रहेको छ ।’ थप उपचार गर्ने आफू र भाइसँग पनि पैसा नभएको उनले सुनाए । आक्रमणबाट घाइते भएका भाइ सहिकुमार राई पनि अहिले राम्रोसँग हिँडडुल गर्न नसक्ने भएको उनले बताए । ‘कान्छो भाइ सहिकुमार अहिले कुनै काम गर्न सक्दैन,’ उनले भने, ‘एक ठाउँबाट अर्को ठाउँसम्म जान सक्छ । तर काम भने केही गर्न नसक्ने गरी त्यो आक्रमणबाट घाइते भएको हो ।’ 

कान्छा भाइ सहिकुमारलाई आक्रमणकारीले बन्चरोको पासो र हम्मरले मेरुदण्डमा आक्रमण गरेको कारणले घाइते भएको उनले सुनाए । एकजना भाइको ज्यान लिने गरी भएको हत्या, दुईजना भाइ गम्भीर घाइते र एक जना भतिज घाइते हुने गरी भएको घटनाका मुख्य अभियुक्तहरूलाई मतियार बनाएर दुई वर्ष मात्र कैद सजाय सुनाएर अन्याय भएको बताए । ‘जिल्लाको फैसला विरुद्ध जिल्ला सरकारी वकिल र आफ्नो निजी कानून व्यवसायीहरूसँग सल्लाह गरेर उच्च अदालत जाने तयारी गरिएको छ,’ उनले भने । 

उपचारबापत खोजेको ऋण तिर्न नसक्दा भएको १ कठ्ठा जग्गा पनि साहुलाई जिम्मा लगाउनुपर्ने अवस्था आएको गुनासो धनकुमारको छ । घाइते समुन्द्रले पनि धेरै चिसो र गर्मी हुँदा चोट लागेको ठाउँ सहनै नसक्ने गरी दुख्ने गरेको बताए । सवारीचालक रहेका उनी घटनाअघि दैनिक ५–६ सय रुपैयाँ कमाउने गरेको बताउँछन् । ‘अहिले भीडभाडमा बस्न सक्दिन । धेरै रिँगटा चल्छ । प्रायः पुराना कुराहरू स्मरणमा छैनन् । उपचार गराउने चाहना भए पनि पैसा छैन । घटना गराउनेले सहयोग गरेनन्,’ समुन्द्र भन्छन् । 

यस्तो थियो घटना 

लोहन्द्रा खोलामाथि रहेको सुनसरी–मोरङ सिंचाइ आयोजनाको साइफनसहितको पक्की पुल २०७४ साल साउनको बाढीले बगाइदिएपछि खोला वारपार गर्नलाई समस्या भयो । मानिस र दुई चक्के सवारी साधन आवतजावत गर्न मिल्ने गरी स्थानीय युवाले बाँसको भाटा प्रयोग गरेर खोलामाथि अस्थायी पुल बनाएका थिए । त्यसको खर्च उठाउन भन्दै युवाहरूले पुल बारपार गर्दा प्रति मोटरसाइकल २५ रुपैयाँ लिन्थे । उक्त पैसासँग जोडिएको विवाद बढेर सामूहिक आक्रमणमा परिणत हुँदा ज्यानै जाने घटना भएको प्रहरीको निष्कर्ष छ । प्रहरीका अनुसार पुलबाट उठाएको पैसा आफूहरूलाई पनि दिनुपर्ने भन्दै बेलबारी–५ का दिनेश भनिने घलेन्द्र श्रेष्ठलगायतका युवाले २०७७ भदौ ११ गते राति विवाद गर्न थाले । मोटरसाइकलमा आइपुगेका ग्रामथान–२ का केके भनिने कृष्णकुमार चौधरी पनि विवादमा सामेल भए । त्यसपछि चौधरीले फोन गरेर विनयकुमार सरदारलाई बोलाए । 

केही युवासहित विनय आइपुगेपछि झन् उग्र बनेको विवाद स्थानीयले साम्य पारेर पठाए । तर, रिसइबी साँधेर बसेका विनयले केही युवालाई भेला पारेर ल्याएपछि भोलिपल्ट घटना गराएको अनुसन्धानबाट खुलेको छ । झगडा चाल पाएर सम्झाउन पुगेका चन्द्रबहादुरको उनीहरूकै आक्रमणमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ । विवाद सामूहिक आक्रमणमा परिणत हुँदा एकै परिवारका १ जनाको मृत्यु र ३ जना घाइते भएका हुन् । मृतक चन्द्रबहादुर नृत्य प्रशिक्षक थिए । अविवाहित उनी विराटनगरमा बसेर नृत्य सिकाउँथे । कोरोना सङ्क्रमणका कारण बन्दाबन्दी भएपछि गाउँमा गएका थिए ।