विजयपुर । कुटपिटबाट घाइते भई उपचारका क्रममा मृत्यु भएकी धरान–१४ की उषा राईलाई कुटपिट घटनामा संलग्न आरोपितमध्ये तीनजनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
बुधबार सुनसरी जिल्ला अदालतले आरोपित ३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो भने १ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
सुनसरी जिल्ला अदालतका न्यायाधीश पुण्यप्रसाद सापकोटाको इजलासले राईलाई कुटपिट गर्ने मुख्य आरोपी उर्मिला राई, सुसेली राई र सुमित्रा राईलाई थुनामा पठाउने आदेश दिएको हो । अदालतले आरोपित रत्ना सुब्बालाई १ लाख धरौटी लिएर छोड्न आदेश गरेको इलाका प्रहरी कार्यालय धरान प्रमुख डिएसपी बुद्ध श्रेष्ठले बताए ।
इलाका प्रहरी कार्यालयका अनुसार आरोपित ३ जनालाई पुर्पक्षका लागि झुम्का कारागारमा पठाइएको छ । डिएसपी श्रेष्ठका अनुसार प्रारम्भिक पोष्टमार्टम रिपोर्ट आएको छ । घटनास्थिति मुचुल्का र प्रत्यक्षदर्शी, दृश्य सामग्रीलगायतका आधारमा अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
पोष्टमार्टम भिसेराको रिपोर्ट आउन बाँकी छ । कुटपिट प्रकरणमा संलग्न भएका ३ जना अझै फरार छन् । डिएसपी श्रेष्ठका अनुसार किटानी जाहेरीमा भएकाले अब अदालतले पक्राउ पुर्जी जारी गर्छ । उनले भने, ‘२ जनाको विषयमा जानकारी आएको छ । किटानी जाहेरीमा नाम भएको एकजना पहिचान हुन सकेको छैन ।’
फरारमध्ये निरकुमारी गुरुङ र सृजना राईको पहिचान भएको छ । प्रहरीका अनुसार मीना राईको पहिचान हुन सकेको छैन । जाहेरी दिने व्यक्तिलाई पनि मीनाका विषयमा जानकारी नभएको प्रहरीले जनाएको छ ।
धरान–१३ की उषालाई आफ्नो पतिसँग नजिकिएको भन्दै ५५ वर्षीया उर्मिला राई नेतृत्वमा गएको समूहले कात्तिक ३ गते कुटपिट गरेको थियो । कुटपिटबाट घाइते बनेकी उषा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपश्चात् डिस्चार्ज भएपछि उपचार खर्च पाउने गरी सामुदायिक प्रहरीमा मिलापत्र गरेका थिए ।
पुनः स्वास्थ्यमा समस्या आएपछि प्रतिष्ठान भर्ना भएकी उषाको उपचारको क्रममा मङ्सिर १३ गते मृत्यु भएको थियो । मृत्युपश्चात् उनका देवरले किटानी जाहेरी दिएका थिए ।