विराटनगर । विराटनगर महानगरपालिका–१४ नयाँ बस्तीकी शान्ति देवी महतोले १० धुर जग्गा राजीनामा पास गरेर २०७२ असोज २० गते १ लाख ५० हजार रुपैयाँ कर्जा लिइन् ।

उनले काइँली छोरी बिरामी भएर उपचारको लागि छिमेकी अम्विका रायसँग सयकडा पाँच रुपैयाँ ब्याजमा कर्जा लिएकी थिइन् । कर्जा लिएको एक वर्षपछि ब्याजमात्र शान्तिदेवीले अम्विकालाई ९५ हजार बुझाइन् । बनिबुतो गरेर परिवारको गुजारा चलाउने शान्तिदेवीले समयमै कर्जा तिर्न सकिनन् ।

साँवा रकम समयमै नबुझाएको भन्दै अम्विकाले शान्तिदेवीको ३६६४ कित्ता नम्बरको १० धुर जग्गा सोही ठाउँकी ५० वर्षीया सुन्दरी देवी साह गुप्तालाई १ लाख ५० हजारमा ०७३ असार १४ गते बेचिदिइन् । सोही मितिमा गुप्ताको नाममा जग्गा पास भएको देखिन्छ । ३० लाख रुपैयाँ कठ्ठामा कारोबार हुँदै आएको जग्गा १ लाख ५० हजारमा बिक्री गरेको झण्डै एक वर्षपछि मात्र शान्तिदेवीले थाहा पाइन् ।

‘अम्विकासँग कर्जा लिएको रकमको ब्याज तिरेकी थिएँ । साँवा पनि तिरेर जग्गा आफ्नो नाममा ल्याउँछु भन्ने थियो । आफ्नै जग्गा आफैलाई थाहा नदिई अर्काको नाममा पास भएछ । त्यसपछि पनि आफ्नो नाममा जग्गा पाउने आशाले ४ लाख ३५ हजार रुपैयाँ ऋण काढेर सुन्दरीदेवीलाई बुझाइसकेको छु’ शान्तिदेवीले पत्रकार सम्मेलनमा भनिन्, ‘अहिले पनि जग्गा मेरो नाममा दिएको छैन । अहिले आएर जग्गा खाली गर धन्दै धम्काउने गरेको छ ।’ जम्मा भएको १० धुर जग्गामा सानो छाप्रो बनाएर शान्तिदेवीको सात जनाको परिवार बस्दै आएको छ ।

यस्तै मोरङको जहदा गाउँपालिका–३ का ५४ वर्षीय जोगिन्दर ऋषिदेवले २०७१ सालमा स्थानीय अच्छेलाल राजवंशीसँग एक कठ्ठा जग्गा धितो राखेर ३० हजार रुपैयाँ कर्जा लिए । उनले तीन वर्षपछि उक्त रकम फिर्ता गरे । ऋषिदेवले ऋण तिरेको कुनै कागजपत्र लिएनन् । ऋषिदेवको एक कठ्ठा जग्गा अच्छेलालले आफ्नो नाममा पास गरी बेचेपछि मात्र थाहा पाए ।

विराटनगर महानगरपालिका वडा नम्बर १२ का ७८ वर्षीय लखनलाल मण्डलले २०६८ सालमा विराटनगर–१२ मा रहेको न्यू जनता बचत तथा ऋण सहकारी संस्थामा ६८ हजार रुपैयाँ कर्जा लिएका थिए । उनलाई त्यसबेला सहकारीका प्रबन्धक रहेका राजु शर्मा घतानीले ऋण दिएका थिए । सिटी चलाएर आम्दानी भएको र छोराले विदेशबाट पठाएको पैसा जम्मा गरी मण्डलले पटक–पटक गरेर ६ लाख रुपैयाँ राजुलाई बुझाए । तर, मण्डलले बुझाएको पैसा राजुले सहकारीमा जम्मा गरिदिएनन् । लेखपढ नगरेका मण्डलले राजुलाई बुझाएको पैसाको भौचर पनि लिएनन् ।

‘ऋण लिएको पैसा बुझाएपछि २०७६ माघ १९ गते राजुले जग्गा पास गरिदिने भनेर विराटनगर मालपोत कार्यालय लिएर गयो’ मण्डलले भने, ‘उनले भनेअनुसार ल्याप्चे पनि लगाइदिएँ ।’

राजुको विश्वासमा परेका मण्डलले आफ्नो नाममा रहेको १७ धुर जग्गा राजुकी श्रीमती सिर्जना खातीको नाममा पास गरे । उनको जग्गाको भाउ अहिले प्रतिधुर पाँच लाख रुपैयाँ छ । अहिले उनले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएर न्याय दिलाउन अनुरोध गर्दै आएका छन् ।

शान्तिदेवी,  लखनलाल र जोगिन्दर त प्रतिनिधि पात्र मात्र हुन् । उनीहरू अहिले आफ्नो नाममा जग्गा दिलाइदिन स्थानीय तहदेखि जिल्ला प्रशासन कार्यालयसम्म हारगुहार गरिरहेका छन् ।

मोरङमा पछिल्लो समय ठगी गरेर कमाउने धन्दा जालोको रूपमा फैलिएको छ । वित्तीय संस्था र सहकारीकै कर्मचारीको बदमासीमा परेर सोझा, निम्न र मध्यम् वर्गीय धेरै मानिस लेनदेनको गलत फन्दामा परेका छन् । मोरङमा दुई महिनाको अवधिमा ठगी र मिटर ब्याजविरुद्धका ६४ वटा उजुरी परेका छन् । जसमा नौवटा छलफल गरेर मिलाइएको छ ।

मिटर ब्याजीहरूले नीतिगत रूपमा दरिलो कागजपत्र तयार गरेर ठगी काम गर्ने गरेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदप्रसाद पोखरेलले बताए । ‘प्रायः ले रित पुर्याएर जग्गा राजीनामा पास गर्ने गरेका छन् । कानूनको रित पुर्याएर काम गरेकाले गाह्रो परेको अवस्था छ’ उनले भने, ‘लेनदेनमा हरकोही सचेत हुन आवश्यक रहेको छ ।’

सोझा, निम्न र मध्यम् वर्गीय जनतालाई झुक्याएर, कीर्ते गरेर, ठगेर, तोकेको भन्दा बढी ब्याज लिनेहरूलाई कानूनी दायरामा ल्याएर कारबाही गर्ने उनले बताए ।