विजयपुर । बलात्कारजस्तो जघन्य अपराध मिलापत्र गराउन आर्थिक चलखेल गरेको आरोप लागेकी शान्ता खड्का प्रहरीमा उजुरी पुगेलगत्तै फरार छिन् । ठगी मुद्दा दर्ता गरेको ५ दिन बितिसक्दा पनि पक्राउ नगर्दा प्रहरीमाथि अनेकन प्रश्न उठेको छ ।

धरान–१७ का अनिष चौधरीको बलात्कार मुद्दा मिलाउने भन्दै आर्थिक लेनदेनको आरोप लागेकी धरान–१४ की शान्ता खड्काविरुद्ध प्रहरीले मङ्सिर ७ गते नै मुलुकी फौजदारी संहिता २०७४ अनुसार ठगी मुद्दा दर्ता गराएको थियो । मुद्दा दर्ता गरेको ५ दिन बित्दा पनि प्रहरी खड्कालाई किन पक्राउ गरिरहेको छैन भन्दै पीडितहरूले आशङ्का जाहेर गरेका छन् ।

इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर देउप्रसाद लिम्बूका अनुसार खड्काविरुद्ध ठगी मुद्दा दर्ता गरिएको हो । इन्स्पेक्टर लिम्बूका अनुसार शान्ता हाल फरार रहेकी छन् । उनले  भने, ‘अहिले खोजी कार्य भइरहेको छ, पक्राउ परेपछि थप कुरा खुल्छ ।’

बलात्कारको मुद्दा मिलाउने भन्दै १० लाख रुपैयाँ ‘बार्गेनिङ’ गरेको भन्दै खड्काविरुद्ध आरोपित अनिष चौधरीका भाइ जयबहादुर चौधरीले इलाका प्रहरी कार्यालय धरानमा ठगी मुद्दामा उजुरी दर्ता गराएका थिए । चौधरीले धरान–१७ कै एक महिलालाई बलात्कार गरेको आरोप लागेको थियो भने हाल उनी पुर्पक्षका लागि जेलमा छन् ।

शान्ताले सोही मुद्दा मिलाइदिने भन्दै अनिषकी पत्नी रविना चौधरीसँग १० लाख ‘बार्गेनिङ’ गरेको आरोप लागेको छ । रविनाको पनि मृत्यु भइसकेको छ । रविनाका मामा रामनारायण धामीले मृतक रविनासँग खड्काले सुरुमा १० लाख र पछि साढे ३ लाख रुपैयाँमा मिलापत्र गराउने भनी रकम लिएको यसअघि ब्लाष्टलाई बताएका थिए । उनले भनेका थिए, ‘रविना मेरो भान्जी हो । शान्ताले ज्वाइँ छुटाइदिने भनेपछि ३ लाख ५० हजार रुपैयाँ दिएको बताएकी थिइन् ।’

ठगी मुद्दा पुष्टि भएमा शान्तालाई ७ वर्षसम्म कैद हुन सक्ने कानूनी व्यवस्था रहेको छ । प्रहरीमा मुद्दा नै दर्ता गरिसकेपछि ठगी मुद्दा पुष्टि हुने सम्भावना रहेको छ भने केही आधार पनि फेला पारेको प्रहरीको भनाइ छ । पुष्टि भएमा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २४९ उपदफा ३ को खण्ड (ग) मा ठगी गर्नेलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिबाना हुने व्यवस्था रहेको छ ।

सोही घटनालाई शान्ताले महिला सञ्जालको नाम जोडेर बलात्कार मुद्दा मिलाउन आर्थिक लेनदेन गरेको सार्वजनिक भएपछि महिला सञ्जाल धरानले पनि आपत्ति जनाएको थियो । सञ्जालले पत्रकार सम्मेलन गर्दै शान्ताविरुद्ध कानूनी प्रक्रियामा जाने पनि बताएको थियो । महिला सञ्जालले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘जबरजस्ती करणी मुद्दा मिलाइदिन्छु भनेर महिला सञ्जालको नाम जोडी धरान–१४ बस्ने शान्ता खड्काले आर्थिक लेनदेन गरेको मृतकका आफन्त र छरछिमेक साथै मिडियामार्फत् आएको छ, सोप्रति हाम्रो गम्भीर आपत्ति तथा  ध्यानाकर्षण भएको  छ ।’

सञ्जालले रविना मृत्यु प्रकरण र आर्थिक लेनदेनमा सञ्जालको कुनै संलग्नता नरहेको बताएको थियो । सञ्जालले खड्का सञ्जालमा आबद्ध नरहेको पनि प्रष्ट पारेको छ । सञ्जालले इलाका प्रहरी कार्यालय धरानमा शान्ताविरुद्ध ठाडो निवेदनसमेत दिएको थियो ।