भद्रपुर । झापाको पूर्वीनाकाबाट अनुमानित २० लाख मूल्य बराबरको सामग्री प्रहरीले बरामद गरेको छ । भारतबाट तस्करी गरेर नेपालका तस्करले लुकाई छिपाई राखेको सामान प्रहरीले बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा शनिबार बिहान इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी ज्ञानकुमार महतो र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले झापा मेचीनगर–८ खडिया बस्तीस्थित सडकछेउमा रहेको नरबहादुर कुँवरको खाली गाई गोठमा सामान फेला पारेको जिल्लाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।
अवैधरूपमा भारतबाट नेपाल तर्फ ल्याई बेवारिसे अवस्थामा छाडी राखेको १९ पोका कपडा र २ पोका गाडीको पार्टपुर्जा बरामद गरिएको डिएसपी पाठकले जनाए । बरामद गरिएका सामग्रीको अनुमानित २० लाख मूल्य कायम गरी आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको उनले जानकारी दिए ।