सुनसरी । सशस्त्र प्रहरी बल नेपाल (बिओपी) भण्टाबारीले भारततर्फ लाँदै गरेको अवस्थामा स्वेदशी उत्पादित रक्सी ‘उमङ्ग मदिरा’ बरामद गरेको छ । 

रक्सी बरामद भएसँगै तस्करले कुनै न कुनै माध्यमबाट भारततर्फ मदिरा तस्करी गर्ने गरेको खुलेको छ । भण्टाबारीका इन्स्पेक्टर मनोज खनालको नेतृत्वमा खटिएको टोलीले बिहीबार राति १ सय २० थान उमङ्ग नामको मदिरा बरामद गरेको हो । 

कोसी गाउँपालिका–८ भण्टाबारीको चारकुने क्षेत्रबाट भारततर्फ लाँदै गरेको अवस्थामा मदिरा बरामद गरिएको इन्स्पेक्टर खनालले जानकारी दिए । यस क्षेत्रबाट कमसल खालका मदिराहरू तस्करी हुने गरेको छ । भारतको बिहारमा बिहार राज्य सरकारले मदिरामा प्रतिबन्ध लगाएको छ । 

नेपालको भण्टाबारी, लौकही, उल्टी, लाही, घुस्की, कप्तानगञ्ज नाकाबाट बढी तस्करी हुने गरेको प्रहरीको भनाइ छ । त्यस क्षेत्रमा सुरक्षा तैनाथ गरिए पनि तस्करले विभिन्न जुक्ति अपनाई भारततिर मदिरा लाने गरेको स्रोत बताउँछ । 

खुला सीमाको फाइदा उठाउनमा तस्कर माहिर छन् । नेपालबाट गुणस्तरहीन दिलवाले, उमङ्ग, गोल्डेन ओके, सोफी, सिग्नेचर, हाइलेन्डर, वृक्षजस्ता मदिरा तस्करी हुने गरेको छ ।