धरान । झापाको कनकाई नगरपालिका–४ मा आफ्नै जेठाजुको हत्या आरोपमा बुहारी पक्राउ परेकी छन् ।

कनकाई–४ इलुवाबारीका पदमलाल बास्तोलाको हत्या आरोपमा बुहारी रनमाया बास्तोलालाई पक्राउ गरिएको हो । पदमलालको शिवसताक्षी नगरपालिका–१० टेक्रास्थित कनकाई नदी किनारको काँसघारीमा हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

पदमलालको टाउकोमा गहु्रँगो चिजले हानेर हत्या गरिएको अवस्थामा शव फेला परेपछि अनुसन्धान गर्दै जाँदा बुहारी (भाइकी पत्नी) को संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी वसन्त पाठकले जानकारी दिए । पदमलालको शव बिहीबार भेटिएको थियो । 

स्थायी घर इलामको देउमाई नगरपालिका हो । उनी भाइको घरमा बस्दै आएका थिए । उनी बुधबार दिउँसोदेखि सम्पर्कविहीन बनेका थिए भने बिहीबार शव फेला परेको थियो ।

अनुसन्धान गर्दै जाँदा शङ्का लागी सोधपुछ गर्दा बुहारीले हत्या गरेको स्वीकार गरेको डिएसपी पाठकले जानकारी दिए । घाँस काट्न जाँदा हँसिया प्रहार गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । ४८ वर्षीया आरोपित रनमायालाई इलाका प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।