विजयपुर । बलात्कारजस्तो जघन्य अपराधमा संस्थाको नाम जोडेर आर्थिक लेनदेन गरी मिलाउन खोज्ने महिलाविरुद्ध महिला सञ्जाल धरान कानूनी उपचारमा गएको छ । 

सञ्जालले शुक्रबार पत्रकार सम्मेलन गर्दै धरान–१७ का अनिष चौधरीको बलात्कार मुद्दा मिलाउने भन्दै लेनदेनमा संलग्न धरान–१४ की शान्ता खड्काविरुद्ध कानूनी प्रक्रियामा जाने बताएको लगत्तै प्रहरीमा उजरी दिएको हो । इलाका प्रहरी कार्यालय धरानमा खड्काविरुद्ध उजुरी दिएकी छन् । सञ्जालकी अध्यक्ष सपना राईले संस्थाको नाम जोडी आर्थिक लेनदेनको कुरा गरेकाले कानूनी प्रक्रियामा गएको बताइन् । उनले भनिन्, ‘सञ्जालको तर्फबाट जाहेरी दिएका छौँ ।’

आर्थिक लेनदेन गर्न खोज्ने खड्काविरुद्ध अनिष चौधरीका भाइ जयबहादुर चौधरीले पनि इलाका प्रहरी कार्यालय धरानमा बिहीबार ठगी मुद्दामा उजुरी दर्ता गराएका छन् । चौधरीले धरान–१७ कै एक महिलालाई बलात्कार गरेको आरोप लागेको थियो भने हाल उनी पुर्पक्षका लागि जेलमा छन् ।

उनको पत्नी रविना चौधरीसँग घटना मिलापत्र गराउने भन्दै खड्काले रकम माग गरेको विषय बाहिरिएपछि सञ्जालले पत्रकार सम्मेलन गरी कानूनी प्रक्रिया थाल्ने बताएको हो । रविनाको पनि शनिबार मृत्यु भएको छ ।

परिवारका आफन्तका अनुसार रविनासँग खड्काले सुरुमा १० लाख र पछि साढे ३ लाख रुपैयाँमा मिलापत्र गराउने भनी रकम लिएकी थिइन् । खड्काले उक्त बलात्कारको घटना मिलाइदिन्छु भन्दै भान्जी रविनासँग सुरुमा १० लाख रुपैयाँ ‘बार्गेनिङ’ गरेको मृतकका मामा रामनारायण धामीले बताए । सुरुमा १० लाख रुपैयाँको ‘बार्गेनिङ’ गरे पनि अन्तिममा ३ लाख ५० हजार रुपैयाँ लिएको मृतकका मामा चौधरीले बताए । उनले भने, ‘रविना मेरो भान्जी हो । शान्ताले ज्वाइँ छुटाइदिने भनेपछि  ३ लाख ५० हजार रुपैयाँ दिएको बताएकी थिइन् ।’

उक्त घटना बाहिरिएपछि सञ्जालले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘जबरजस्ती करणी मुद्दा मिलाइदिन्छु भनेर महिला सञ्जालको नाम जोडी धरान–१४ बस्ने शान्ता खड्काले आर्थिक लेनदेन गरेको मृतकका आफन्त र छरछिमेक साथै मिडियामार्फत् आएको छ, सोप्रति हाम्रो गम्भीर आपत्ति तथा  ध्यानाकर्षण भएको  छ ।’ सञ्जालले रविना मृत्यु प्रकरण र आर्थिक लेनदेनमा सञ्जाल कुनै संलग्नता नरहेको पनि स्पष्ट पारेको छ । सञ्जालले खड्का सञ्जालमा आबद्ध नरहेको पनि प्रष्ट पारेको छ ।

यता खड्कालाई यसबारे बुझ्नका लागि ब्लाष्ट टाइम्स दैनिकले पटक–पटक उनको एनसेल नम्बर र उनको छोरीको नम्बरमा सम्पर्क गर्ने प्रयास गरेको थियो । तर, प्रयास सफल हुन सकेन । शान्ताविरुद्ध ठगीमा उजुरी आएको इलाका प्रहरी कार्यालय धरानले पुष्टि गरेको छ । डीएसपी बुद्ध श्रेष्ठले ठगी मुद्दामा जाहेरी आएको बताए । उनले भने, ‘जाहेरी दर्ता गरेका छौँ । १ जना व्यक्तिको शङ्कास्पद अडियो भेटिएकाले अनुसन्धान गर्दैछौँ ।’ उनले जाहेरी दर्ता गरेर ठगीको प्रमाण जुटाउनेतिर लागेको बताए ।