सुनसरी । पछिल्लो समय विभिन्न माध्यमबाट नेपाली गाँजा भारततर्फ तस्करी गराउने गिरोह सक्रिय रहेकोे पाइएको छ ।
सुनसरीको भण्टाबारी नाका हुँदै भारततर्फ लाँदै गरेको अवस्थामा भारतीय एसएसबीले ठुलो परिमाणमा गाँजासहित एकजना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
आइतबार साँझ नेपाल–भारत दसगजास्थित २ सय ५ नम्बर सीमास्तम्भ क्षेत्रबाट गोप्य सूचनाका आधारमा परिचालित भारतीय एसएसबीले अन्दाजी भारतीय १ करोड २० लाख बराबरको ६ सय केजी गाँजा बरामद गरेको जनाइएको छ ।
रातको समयमा टाउकोमा बोकेर भारततर्फ गाँजा लैजाँदै गरेको अवस्थामा भारतीय एसएसबीले कोसी गाउँपालिका वडानम्बर ८ भण्टाबारी बस्ने रामचन्द्र यादवलाई नियन्त्रणमा लिएको भारतीय एसएसबीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेको छ । उक्त गाँजा तस्करीमा अन्य व्यक्तिको समेत संलग्नता भए पनि रातको समयमा उनीहरू भाग्न सफल भएको र पक्राउ परेका यादवलाई आवश्यक कारबाहीको लागि नारकोटेक कण्ट्रोल ब्यूरो पटनाको जिम्मा लगाइएको छ ।
पहाडी जिल्लाबाट ल्याइने गाँजा रातिको समयमा कहिले डुङ्गाको सहायताले सप्तकोसी नदी हुँदै त कहिले अन्य माध्यमबाट भारततर्फ कटाउने गरिएको हो । केही दिनअगाडि निर्वाचन सुरक्षामा खटिएका सशस्त्र प्रहरीले तरकारी गाडीबाट ठुलो परिमाणमा गाँजा बरामद गरेको छ ।
कोसी गाउँपालिका वडानम्बर ३ स्थित नहर चोकस्थित पूर्व–पश्चिम लोकमार्गमा को.१ च ८५२५ नम्बरको पिकअप खानतलासी गर्दा २ सय १७ केजी गाँजा बरामद गरिएको थियो । यसैगरी २०७८ साल वैशाख १४ गते राति सशस्त्र प्रहरी बल सुनसरीका प्रमुख एसपी विक्रम हुमागाईंको नेतृत्वमा खटिएको टोलीले १ सय ४८ केजी गाँजा बरामद गर्न सफल भएको थियो ।
त्यतिबेला धनकुटा ल्याएर प्रदेश १ –०२००१ ख ८६१४ नम्बरको मिनी ट्रकमा भारततर्फ लाने तयारी अवस्थामा राखेको ६ बोरा गाँजा बरामद गरिएको थियो । गाँजासहित धनकुटा जिल्ला सहिदभूमि गाउँपालिका–४ बस्ने वर्ष ३६ का हेमप्रसाद राई, सहिदभूमि गाउँपालिका–२ बस्ने ३६ का हिकमत राई र सोही स्थानमन ३५ वर्षीय आशिष राई पक्राउ परेका थिए ।
सशस्त्र प्रहरी बल सुनसरीका एसपी हुमागाईंको नेतृत्वमा खटिएको टोलीले भोक्राहा नरसिंह क्षेत्रबाट प्रदेश १–०२००१ ख ८६१४ नम्बरको मिनी ट्रकबाट १ सय ४८ केजी गाँजासहित चालक हेमप्रसाद राईलाई नियन्त्रणमा लिएपछि को.४० प २२११ नम्बरको मोटरसाइकलमा पाँचलाख रुपैयाँसहित मिलाउन भन्दै आएका हिकमत राई र आशिष राईलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।
विभिन्न समयमा सीमावर्ती क्षेत्रहरूबाट गाँजा बरामद हुनाले सुनसरीका विभिन्न सीमा नाका हुँदै अझै गाँजा तस्करी हुने गरेको पुष्टि हुन्छ । तस्करहरूले पहाडी जिल्लाबाट गाँजा ल्याई भारततर्फ तस्करी गराउने उद्देश्यले सुनसरी, सप्तरी र उदयपुरको बाटो प्रयोग गर्दै आएका छन् ।
कोसी नदीको फाइदा उठाउँदै पहाडी जिल्लाबाट गाँजा ल्याई भारततर्फ तस्करी गर्ने गरेको हो । कोसी नदीमा चल्ने डुङ्गा र बाँस कारोबार गर्नेहरूले पहाडी जिल्लाबाट सुनसरीमा गाँजा भिœयाउने र सुनसरी हुँदै गाँजा भारततर्फ तस्करी गर्ने गरिएको छ । खुल्ला सीमाका कारण लागूऔषध र गाँजा कारोबार पूर्णरूपमा रोकथाम गर्न चुनौतीपूर्ण देखिएको सीमामा तैनाथ सुरक्षाकर्मीले बताउँदै आएको छ । यद्यपि पछिल्लो समय सीमा निगरानी बढाइएको हुँदा गाँजा बरामद हुने क्रम बढेको प्रहरीले जनाएको छ ।