धरान । झापाको मेचीनगर नगरपालिकाको जङ्गलमा शङ्कास्पद अवस्थामा एक दम्पतीको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अर्जुनधारा नगरपालिका–११ मूल घर भई हाल मेचीनगर नगरपालिका–१२ मा अस्थायी रूपमा बस्दै आएका दम्पतीको शव एकै स्थानमा सोमबार दिउँसो भेटिएको हो ।

शव ७० प्रतिशत कुहिएको अवस्थामा भेटिएकाले सुरुमा पहिचान गर्न समस्या परेको थियो । तर, शव भेटिएको हल्ला फैलिएपछि भने जुन घरमा डेरा गरी बस्थे, सोही घरका घरधनीले पहिचान गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी एवम् प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।

उनका अनुसार हाल शवको मुचुल्का उठाई पहिचान गर्ने कार्य सम्पन्न भएकाले पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

डिएसपी पाठकका अनुसार ४८ वर्षीय नेत्रकुमार इङ्नाम लिम्बू र उनको पत्नी सञ्जु इङ्नाम लिम्बूको शव भेटिएको हो । उनीहरू करिब १० दिनदेखि बेपत्ता रहेको अर्जुनधारा नगरपालिका–११ का वडाध्यक्ष खगेन्द्र इङ्नामले जानकारी दिए ।

वडाध्यक्ष खगेन्द्र मृतकका साख्खै दाजु हुन् । उनीहरूको शव मेचीनगर नगरपालिका–१३ स्थित जङ्गलमा सोमबार दिउँसो घाँस, दाउराका लागि हिँडेका सर्वसाधारणले देखेका थिए । त्यसपश्चात् तत्कालै प्रहरीलाई खबर गरेका थिए ।

घटना हत्या हो या आत्महत्या भन्ने विषयमा हालसम्म कुनै कारण खुल्न सकेको छैन । परिवारिक स्रोतका अनुसार सञ्जु नेत्रको दोस्रो पत्नी रहेकी थिइन् ।

पारिवारिक स्रोतका अनुसार आफूसँग भएको श्रीसम्पत्ति सबै सकेर उनीहरू फिरन्ते जीवनशैली अपनाउँदै आएका थिए । मृतक नेत्रकुमारको पहिलो पत्नीसँग सम्बन्धविच्छेद भइसकेको र एक छोरासमेत रहेको दाजु खगेन्द्रले जानकारी दिए ।