विराटनगर । विराटनगर–१५ विराटनगर भन्सार कार्यालयको तीन नम्बर गेटमा भारतबाट तस्करी भएर आएको लत्ताकपडा नियन्त्रणमा लिन खोज्दा भन्सारका कर्मचारीमाथि हातपात गर्ने तस्कर समूहका एक जना सदस्य पक्राउ परेका छन् ।

भन्सार कर्मचारीमाथि अभद्र व्यवहार गरेका तस्कर समूहमध्येका एक जना सदस्यलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१७ का २९ वर्षीय मोहम्मद सदाम मियाँ रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

गत शुक्रबार राति साढे १० बजे विराटनगर महानगरपालिका वडा नं. १५ स्थित विराटनगर भन्सार कार्यालयको ३ नम्बर गेटमा भारतबाट अवैध भन्सार छलीका सामान नेपालतर्फ पैठारी गरेको सूचनाको आधारमा विराटनगर मूल भन्सार कार्यालयबाट ७ जना कर्मचारीहरू खटिएका थिए ।

अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिने क्रममा हुलहुज्जत गरी सामान र सवारी साधन भगाएका थिए । अवैध सामान भगाउनेमध्येका तस्कर समूहका सदस्य मियाँलाई पक्राउ गरी विराटनगर भन्सार कार्यालयमा बुझाएको हो ।

मियाँले तस्करीको सामान राखेको लत्ता कपडा भगाउन सफल भएको को.१ च २२३५ नम्बरको सवारी साधन र अन्दाजी ४ लाख बराबरको कपडा पनि बरामद गरेको छ । उक्त अवैध सामान भारत दशगजा क्षेत्रभित्र लुकाई छिपाई राखेको अन्दाजी १ लाख ५० हजार बराबरको सामान प्रहरीको समन्वयमा सशस्त्र सीमा सुरक्षा बल (भारत) बाट बरामद गरी नियन्त्रणमा लिएको छ  ।

विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र ढुङ्गानाले प्रहरी कार्यालयअगाडि नै तस्करीको सामान गाडीमा लोड भइरहेको सूचना आएपछि सात कर्मचारीको टोली गएर नियन्त्रणमा लिएको बताए । सामानसहितको सवारी र चालकलाई नियन्त्रणमा लिएर सीमा प्रहरी चौकीअगाडि आइपुगेपछि प्रहरीले सुरक्षा दिनुको साटो कार्यालयभित्र पसेपछि उक्त घटना भएको उनले गुनासो छ ।

खुल्ला सीमाको फाइदा उठाउँदै अवैध सामान नेपालतिर आइरहँदा सुरक्षा निकायबाट सहयोग नहुँदा तस्कर समूहको आक्रमणमा परेको उनले बताए । यो घटनाले तस्करी नियन्त्रणमा प्रहरी प्रशासनबाट असहयोग भएको उनको आरोप छ ।

आइतबार भन्सार कार्यालय राजस्व चुहावट समितिको विराटनगर भन्सार कार्यालयमा बैठक बसेको थियो । उक्त बैठकले चोरी तस्करी नियन्त्रण गर्ने र भन्सार कर्मचारीमाथि हातपात गर्नेलाई कारबाही गर्ने निर्णय भएको सूचना अधिकारी ढुङ्गानाले बताए ।