देउराली । धरान १३ मा डेरा गरी बस्ने धनकुटाकी एकल महिला उषाकुमारी राईमाथि कुटपिटमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार पक्राउ पर्नेहरू कुटपिटमा संलग्न मुख्य आरोपी धरान १३ सूर्य मार्गकी ५५ वर्षीया उर्मिला राई २६ वर्षीया सुमित्रा राई, ४० वर्षीया रत्न लिम्बु सुब्बा धरान १७ की २९ वर्षीया सुसेली राईलाई इलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलन गरेर सार्वजनिक समेत गरेको छ ।
कार्यालयका प्रमुख डिएसपी बुद्ध श्रेष्ठका अनुसार मुख्य आरोपी उर्मिलालाई मङ्सिर १५ गते पक्राउ गरी १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ भने घटनामा संलग्न अन्य आरोपीहरू सुमित्रा र सुसेलीलाई मङ्सिर १६ गते पक्राउ गरी ९ दिनको म्याद थप गरिएको र मङ्सिर १८ गते पक्राउ परेकी रत्न लिम्बुलाई ७ दिनको म्याद थप गरी अनुसन्धान भईरहको डिएसपी श्रेष्ठले बताएका छन् ।
घटनामा संलग्न भएको भनी जाहेरी परेका सिर्जना राई, मिना राई र निरकुमारी गुरुङको खोजी कार्य भइरहेको बताउँदै श्रेष्ठले घटना भएको बेला खिचिएको भिडियोमा देखिएका अन्य महिलाहरूमाथि पनि अनुसन्धान भईरहको जनाएका छन् ।
गत कार्तिक ३ गते उषामाथि उर्मिला लगायतको महिलाहरूको समूहले कुटपिट गरेको थियो । कुटपिटबाट घाइते भएकी उनको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भएकोमा कार्तिक ८ गते उपचार खर्च दिएर मिलापत्र भई डिस्चार्ज भएकी थिइन् ।
पुनः स्वास्थ्य अवस्था बिग्रिएपछि प्रतिष्ठान भर्ना भएकी उनको मङ्सिर १३ गते मृत्यु भएपछि मृतकका भाइ सुन्दर राईले किटानी जाहेरी दिएका थिए । उक्त जाहेरीका आधारमा पक्राउ परेका चार जना मध्ये मुख्या आरोपी उर्मिलाका श्रीमान् गोविन्द राईसँग नजिकिएको आरोपमा महिलाहरूको समूहले उषामाथि कुटपिट गरेका थिए ।
२ छोरीकी आमा मृतक उषाका श्रीमानको करिब २ वर्षअघि नै मृत्यु भइसकेको र उनी सिलाइ बुनाइको काम गरेर घर खर्च जुटाउने गरेको बताइएको छ ।