विजयपुर । धरान–१३ की उषा राई मृत्यु प्रकरणमा थप १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठका अनुसार घटनामा संलग्न रत्ना लिम्बूलाई पक्राउ गरेको हो । उषा मृत्यु घटनाकी मुख्य आरोपी उर्मिला राईलाई भने प्रहरीले मङ्सिर १५ गते नै पक्राउ गरेको थियो भने अन्य २ जना सुसेली राई र सुमित्रा राईलाई १६ गते पक्राउ गरेको थियो ।

उनीहरू ४ जनालाई नै जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान गरिरहेको डिएसपी श्रेष्ठले बताए । उनले भने, ‘अन्य २ जनाको पनि पहिचान भएको छ । १ जनाको भने पहिचान हुन सकको छैन ।’ डिएसपी श्रेष्ठले प्रमाण जुटाउन लागिरहेको बताए । उनले भने, ‘प्रमाण सङ्कलनतिर केन्द्रित छौँ ।’ उनले थपे, ‘प्रमाण भएन भने पक्राउ गरेर मात्रै के गर्ने ?’ तर प्रक्राउका लागि लागिरहेको उनले बताए ।

मङ्सिर ३ गते आफ्नो पतिसँग नजिएको आरोप लगाउँदै उर्मिला राई नेतृत्वको समूहले उषालाई कुटपिट गरेको थियो । कुटपिटबाट गम्भीर घाइतेउषालाई तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

प्रतिष्ठानमा केही दिन उपचार गरी डिस्चार्ज भएकी उषाले उपचार खर्च पाउने गरी सामुदायिक प्रहरीमा मिलापत्र गरेका थिए । उषाको पुनः स्वास्थ्यमा समस्या आएपछि प्रतिष्ठान भर्ना गरिएको थियो । प्रतिष्ठानमा उपचारको क्रममा उषाको मङ्सिर १३ गते मृत्यु भएको थियो । उषालाई महिलाहरूको समूहले कुटपिट गर्नुका साथै अखाद्य तरल पदार्थसमेत खुवाएका थिए ।

उषालाई न्याय दिलाउन माग
राष्ट्रिय आदिवासी जनजाति महासङ्घ महिला मञ्चले धरान–१३ की एकल महिला उषा राईलाई न्याय दिलाउन माग गरेको छ ।

आइतबार मञ्चले इलाका प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै न्याय दिलाउन माग गरेको हो । न्यायिक समिति धरान उपमहानगर र इलाका प्रहरी कार्यालय धरानलाई बोधार्थ दिँदै इलाका प्रशासन कार्यालयलाई न्यायको माग गरेको हो । मञ्चकी अध्यक्ष माया राई, सचिव मिश्रामाया गुरुङद्वारा हस्ताक्षरित ध्यानाकार्षण पत्रमा ‘मृतक उषा राईको नेपालको संविधान २०७२ को भाग ३ धारा १६ मा उल्लेखित सम्मानपूर्वक बाँच्न पाउने हकको हनन् भएको’ उल्लेख छ ।

साथै मृतक उषा राईको मात्र नभएर निजका एक साबालक र एक नाबालक छोरीहरूको पनि सम्मानपूर्वक बाँच्न पाउने हकको हनन् भएको मञ्चले जनाएको छ । उषाको हत्यामा संलग्न व्यक्तिहरू जुनसुकै समूहका भए तापनि यथासक्दो हत्याराहरूलाई सार्वजनिक गराउँदै कडाभन्दा कडा सजायको माग गरेको छ ।

मञ्चले मृतकका २ छोरीको उचित गाँस, बास र कपासको साथै शिक्षा, स्वास्थ्य र रोजगारीको आजीवन व्यवस्थाको पनि माग गरेको छ । साथै यस घटनामा वर्गीय विभेदको कुरा पनि उठिरहेको  सन्दर्भमा कुनै पनि राजनीतिक दलहरूको हस्तक्षेप तथा आर्थिक चलखेल संस्थालाई मान्य नहुने पनि मञ्चले जनाएको छ ।