विजयपुर । कुटपिटपछि मृत्यु भएकी धरान–१३ की उषा राई मृत्यु प्रकरणमा थप २ आरोपी पक्राउ परेका छन् ।

शुक्रबार कुटपिट घटनामा संलग्न भएको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालयका अनुसार सुसेली राई र सुमित्रा राई पक्राउ परेका हुन् । उनीहरू कुटपिट घटनाको भिडियोमा देखिएकाले पक्राउ गरेको प्रहरीले जनाएको छ । उषा राई मृत्यु घटनाको मुख्य आरोपी उर्मिला राई भने बिहीबार नै पक्राउ परेकी थिइन् ।

कात्तिक ३ गते उर्मिला नेतृत्वको समूहले कुटपिट गर्दा घाइते उषा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केही दिन उपचार गरेर डिस्चार्ज भएकी थिइन् । उषाले उपचार खर्च पाउने गरी सामुदायिक प्रहरीमा मिलापत्र गरेका थिए । पुनः उषाको स्वास्थ्यमा समस्या आएपछि प्रतिष्ठान भर्ना गरिएको थियो ।

उषा राईको उपचारकै क्रममा मङ्सिर १३ गते मृत्यु भएपछि घटनामा संलग्न भनिएका महिलाहरू फरार छन् । मृतकका आफन्तले उर्मिलासहित ७ जनाको नाममा किटानी जाहेरी दिएका छन् ।

कात्तिक ३ गते उषा राईमाथि उर्मिला राईको नेतृत्वमा पुगेका महिलाहरूको समूहले कुटपिट गरेको थियो । कुटपिटका साथै विभिन्न केमिकल, खोर्सानीको धुलोसमेत मिसाएको झोल पदार्थ उषालाई पिलाएको र उनको स्वास्थ्यमा गम्भीर असर पुगेको आफन्तको भनाइ छ ।

उषाको न्यायको माग गर्दै शुक्रबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी, इलाका प्रहरी कार्यालय धरान र उर्मिला राईको घर घेराउ गरेर प्रदर्शन गरेका थिए ।