विजयपुर । सामाजिक सञ्जालमा भाइरल बनेको धरान–१३ की उषा राईको मृत्यु घटनामा नातेदार पनि संलग्न रहेको पाइएको छ । अमर सूर्यमार्गकी एकल महिला राईको मङ्सिर १३ गते उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।
घटनालाई सामाजिक सञ्जाल तथा युट्युबमा खुबै उछालिएको थियो । मृतक उषाकी बुहारी सानु राईका अनुसार कुटपिटमा नातेदारहरू पनि संलग्न छन् । घटनाको मुख्य आरोपी ५५ वर्षीया उर्मिला राईले समूह लगी कात्तिक १३ गते कुटपिट गरेका थिए । कुटपिटबाट ४० वर्षीया उषा गम्भीर घाइते भएकी थिइन् ।
केही दिन अस्पतालमा उपचार गरेर डिस्चार्ज भएकी उषाले उपचार खर्च पाउने गरी सामुदायिक प्रहरीमा मिलापत्र गरेका थिए । सानुले आफन्तबाटै आरोपितलाई संरक्षण गरिएको दाबी गरिन् । घटनामा संलग्नमध्ये एकजना नातेदार पर्छन् । घटनाको मुख्य आरोपी उर्मिलालाई इलाका प्रहरी कार्यालय धरानले बिहीबार पक्राउ गरेको छ ।
मृत्युबारे अनुसन्धान भइरहेकाले तत्काल भन्न नमिल्ने इलाका प्रहरी कार्यालय धरानका डीएसपी बुद्ध श्रेष्ठले बताए । घटनामा स्थानीय आमा समूह पनि जोडिएको थियो । सामाजिक सञ्जालमा आमा समूहको तीव्र आलोचना भएपछि सोही ठाउँको जनजागृति आमा समूहले बुधबार पत्रकार सम्मेलन गर्दै समूहको संलग्नता नभएको दाबी गरेको छ ।
समूहकी अध्यक्ष निर्मला तिम्सिनाले पीडित परिवारबाट दिइएको किटानी जाहेरीमा उल्लेख भएका नामका कोही पनि व्यक्ति समूहमा आबद्ध नभएको प्रष्ट पारिन् । उनले व्यक्तिगतरूपमा कोही कसैको उपस्थिति भए पनि संस्थागत उपस्थिति नभएकाले संस्थाको नाम जोडेर गलत र भ्रमपूर्ण हल्ला फिँजाइएकोप्रति दुःख व्यक्त गरिन् । उनले भनिन्, ‘हाम्रो संस्थामा उजुरी आएको पनि छैन, हामीले यो विषयमा छलफल पनि गरेका छैनौं ।’ व्यक्तिगतरूपमा संस्थासँग आबद्ध कोही संलग्न भएको भए कारबाही गर्नुपर्ने बताइन् ।
मृतक उषा २०७२ सालदेखि अस्थायी रूपमा धरान–१३ मा बसोबास गर्दै आएकी थिइन् । स्थानीय गोविन्द राई (उर्मिलाका पति) को घरमा भाडामा बस्दै आए पनि दुई वर्षअगाडि पतिको मृत्यु भएपछि घर बदलेकी थिइन् । पतिको मृत्युपश्चात् मृतक उषा दुई छोरीसँग धरान–१३ स्थित अमर सूर्यमार्ग चोकमा कपडा सिलाएर जीविका चलाउँदै आएकी थिइन् ।
उक्त घटनाबारे प्रत्यक्षदर्शी कमल अधिकारीले कुटपिट योजनाबद्ध भएको दाबी गरे । अधिकारीको किराना पसल र मृतक उषाको टेलर एकै घरमा छ । अधिकारी भन्छन्, ‘उषा हतार–हतार कपडा सिलाउँदै थिइन् । कुटपिट गर्ने समूहका केही व्यक्तिहरूले कुटपिट हुनुपूर्व पटक–पटक हेर्दै जाँदै गरेका थिए ।’ मृतक उषाको भनाइ उद्धृत गर्दै उनी भन्छन्, ‘कपडा भरे दिनुपर्ने हतार छ । यतै आउनु न दिदी । भित्रै कुरा गर्दै काम गर्छु ।’
त्यसपछि ८–९ जनाको समूहमा आएका महिलाहरू पसलभित्रै पसेर कुटपिट गरेको अधिकारीले बताए । महिलाको समूहले मृतक उषालाई पसलबाहिर ल्याई घेरा हालेर कुटपिट गर्न थालेपछि गुहार मागेको उनले बताए । आफूलगायत अन्य पुरुष छुट्याउन जाँदा ‘महिलाको कुरामा किन आउनुभएको’ भन्दै प्रतिवाद गरेको अधिकारीको भनाइ छ ।
स्थानीयले कुटपिट गर्ने महिलाको समूहलाई नियन्त्रणमा लिन नसकेपछि प्रहरीलाई खबर गरेका थिए । धरान–१३ को अस्थायी प्रहरी पोष्टका प्रहरी आउँदा पनि अटेर गरेपछि इलाका प्रहरी कार्यालयको टोली आएपश्चात् मात्रै कुटपिटमा संलग्न महिलाहरू भागेको उनले बताए । अधिकारीले भने, ‘सिभिल र यहीँका प्रहरी आउँदा पनि कुटपिट गर्न छाडेनन् । अन्तिममा इलाकाको प्रहरी आएपछि मात्र भागे ।’
स्थानीय तथा प्रत्यक्षदर्शी सपना श्रेष्ठले कुटपिट गर्दै गरेको दृश्य सिसी टिभीको फुटेजमा हेर्दा जनजागृति आमा समूहकी पूर्वअध्यक्ष देखिएको बताइन् । उनले मृत्यु भएको ३ दिनसम्म प्रहरीले आरोपितलाई पक्राउ नगरेको विषयमा आश्चर्य व्यक्त गरिन् । मृतक उषाकी घरधनी सपना भट्टराईले मृत्यु कुटपिटबाटै भएको अनुमान लगाइन् ।
‘मेरो घरमा उषा ६ महिनादेखि बस्दै आएकी थिइन्, कुनै औषधि खाएको थाहा थिएन’ उनले भनिन्, ‘कुटपिटपछि सास फेर्न गाह्रो भइरहेको बताएकी थिइन् ।’ स्थानीय ताराहाङ लिम्बूले चियोचर्चो गर्दै समूह नै आई कुट्नु र विषादी पनि खुवाउने प्रयास गरेकोले आपराधिक मनसायले नै कुटपिट गरेको बताए ।
मृतक उषामाथि उर्मिलाको समूहले गोविन्द (उर्मिलाको पति)सँग सम्बन्ध रहेको आशङ्काकै भरमा कुटपिट गरेको हल्ला मृत्युपश्चात् सुनिएकोमा स्थानीयले आश्चर्य व्यक्त गरेका छन् । ब्लाष्टकर्मीले दर्जनभन्दा बढी स्थानीयसँग कुरा गर्दा पति गोविन्दसँग नजिकिएको विषय उषाको मृत्युपश्चात् मात्रै हल्ला आएको प्रतिक्रिया दिए ।
डिएसपी श्रेष्ठले कुटपिटमा संलग्नहरूमध्ये ७ जनाको नाममा किटानी जाहेरी आएको बताए । किटानी जाहेरी आएका सात जनामध्ये एक जना नातेदारसमेत रहेका छन् । उनले उषासँग विगतमा भएको मिलापत्रको कानूनी आधार नहुने दाबी गरे । उनले घटनाका विषयमा अनुसन्धान भइरहेको र मृत्युको कारणबारे पोष्टमार्टम रिपोर्ट आएपछि सबै विषय खुल्ने बताए । कुटपिटका बेला भेटिएको तरल पदार्थ पनि ल्याव परीक्षण गरेपछि के हो भन्नेबारे खुल्ने बताए ।
उर्मिला पक्राउ
उषा राई मृत्यु प्रकरणकी मुख्य आरोपित उर्मिला राई पक्राउ परेकी छन् ।
बिहीबार मुख्य आरोपी धरान–१३ की राई धरान–१३ बाटै पक्राउ परेकी इलाका प्रहरी कार्यालय धरान डीएसपी बुद्ध श्रेष्ठले जानकारी दिए । डिएसपी श्रेष्ठका अनुसार राईलाई आफ्नो घरबाट नभई अन्तैबाट पक्राउ गरिएको हो । घाइते उषाको उपचारको क्रममा मृत्यु भएपछि उर्मिला फरार थिइन् । उनले भने, ‘उर्मिला राईलाई पक्राउ गरेका छौं । अन्यको पनि खोजी भइरहेको छ ।’
उषा राईलाई न्याय दिन माहिला सञ्जालको माग
धरान–१३ की उषा राई मृत्यु प्रकरणमा सत्य–तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न महिला सञ्जाल धरानले माग गरेको छ ।
बिहीबार सञ्जालले विभिन्न निकायलाई ध्यानाकर्षण पत्र बुझाउँदै दोषीलाई कारबाही गरी पीडितलाई न्याय दिलाउन माग गरेको हो । महिला सञ्जालकी अध्यक्ष सपना राईका अनुसार धरान उपमहानगरको न्यायिक समिति, इलाका प्रशासन कार्यालय धरान, इलाका प्रहरी कार्यालय धरान र राष्ट्रिय महिला आयोगलाई ध्यानाकर्षण बुझाएको हो ।
उनले सत्य–तथ्य छानबिन गरी दोषीलाई कारबाहीका लागि ध्यानाकर्षण बुझाएको बताइन् । अध्यक्ष राईले इलाका प्रशासन कार्यालय धरानमार्फत् महिला आयोग विराटनगर र राष्ट्रिय महिला आयोग काठमाडौंलाई पनि ध्यानाकर्षण पत्र पठाएको बताइन् ।
सञ्जालले धरान नगर उपप्रमुख अइन्द्रविक्रम बेघा, इलाका प्रशासन कार्यालय धरानका प्रमुख चूडाराज भट्टराई, इलाका प्रहरी कार्यालय धरानका डीएसपी बुद्ध श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाउँदै चाँडो छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेको हो । सञ्जालको ध्यानाकर्षण पत्रमा ‘धरान–१३ निवासी एकल महिला उषा राईको दुःखद् घटनाको यथाशीघ्र छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दछौँ’ उल्लेख छ ।