विराटनगर । मोरङको जहदामा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ परेकी छन् ।
पति ४२ वर्षीय सन्तोष सरबरियाको हत्याको आरोपमा प्रहरीले जहदा गाउँपालिका–१ भुटाहाकी ३५ वर्षीया दवानीदेवी सरबरियालाई पक्राउ गरेको हो । हत्यामा प्रयोग गरिएको बाम्फोकसहित दवानीदेवीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
पारिवारिक विवादका क्रममा बाम्फोकले घाँटी र टाउकोमा प्रहार गरेर सन्तोषको हत्या गरेको प्रारम्भिक चरणको अनुसन्धनाबाट खुलेको उनले बताए । धारिलो हतियारले घाँटी र टाउको काटिएको अवस्थामा सन्तोषलाई आफ्नै घरभित्र प्रहरीले गत शनिबार राति ११ः२० बजेतिर फेला पारेको थियो । बोल्नसमेत नसक्ने गम्भीर अवस्थामा भेटिएका उनलाई प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याएको थियो । उपचारका क्रममा राति नै उनको मृत्यु भयो ।
प्रहरीले सन्तोषमाथि हतियार प्रहार भएको आशङ्कामा पत्नी दवानीदेवीलाई तत्कालै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । प्रहरी स्रोतका अनुसार मदिराको नशामा आएर पतिले झगडा गर्न थालेपछि सहन नसकेर हतियारले हानेको उनले बताएकी छन् ।
स्थानीयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर पति–पत्नीबीच सधैँ झै–झगडा हुने गरेको थियो । मृतकका ३ सन्तानमध्ये २ छोरा र १ छोरी छन् । उनीहरू १४ वर्षमुनिका छन् ।
पतिको हत्यामा संलग्न दवानीदेवीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन प्रहरीले सोमबार अदालतबाट म्याद थप गरेर घटना अनुसन्धान सुरु गरेको छ । सन्तोषको हत्यामा अरूको संलग्नता छ कि छैन भन्ने कुरा अनुसन्धानपछि मात्रै यकिन हुने एसपी कोइरालाले बताए ।