धरान । सुनको गहना बनाउने कारखानामा डकैती गरेको आरोपमा प्रहरीले धनकुटाका दुईसहित पाँचजनालाई नियन्त्रणमा लिएको छ । 

पक्राउ परेकाहरूले प्रहरीको भेष धारण गरी गहना बनाउने कारखानामा कात्तिक २९ गते डकैती गरेको प्रहरीले जनाएको छ । प्रहरीले धनकुटाका दुई र धादिङका तीन गरी पाँचजनालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । काठमाडौं महानगरीय प्रहरी वृत्तका अनुसार उनीहरूले काठमाडौँ १८ नम्बर वडास्थित रहेको कारखानामा लुटपाट गरेका थिए । भारतीय नागरिकले सञ्चालनमा ल्याएको उक्त कारखानामा लुटपाट गर्ने २६ वर्षीय सुमन राई, २८ वर्षीय देवीराज राई, ३० वर्षीय कुमार विश्वकर्मा, ४० वर्षीय बेगबहादुर विक र ३८ वर्षीया मनिला तामाङलाई पक्राउ गरेको हो । 

प्रहरीले मङ्सिर २७ गते पक्राउ गरेका उनीहरूलाई बिहीबार सार्वजनिक गरेको छ । उनीहरूले प्रहरी पोसाक लगाई कारखानामा पुगेर डकैती गरेका थिए । प्रहरीले उनीहरूको साथबाट एउटा पेस्तोल, म्याग्जिन, चार राउन्ड गोली, २६ ग्राम सुन, मोटरसाइकल दुईवटा, प्रहरी पोसाक र लागूऔषध बरामद गरेको छ । सुन भने बेगबहादुरको सुन पललबाट बरामद गरिएको हो । उनीहरूविरुद्ध अपराध संहिता २०७४ अनुसारका कारबाही अगाडि बढाइएको छ ।