धनकुटा । धनकुटा नगरपालिका–६ पाङसिङ टोलका ३० वर्षीय राजन कार्कीलाई सोही वडाका निवर्तमान वडाध्यक्ष नरेश श्रेष्ठले कुटपिट गरेको आरोप लागेको छ । 

कुटपिटबाट उनी गम्भीर घाइते बनेका छन् । नेकपा (एमाले)को विजय जुलुसमा सहभागी भएर घर फर्किने क्रममा बिहीबार साँझ ८ बजेतिर वडाध्यक्ष श्रेष्ठले कुटपिट गरेको उनले आरोप लगाए । 

निवर्तमान वडाध्यक्षविरुद्ध उनले प्रहरीमा उजुरी पनि दिएका छन् । राजनका अनुसार तिलक कार्कीसँग विजय जुलसमा सहभागी भएर फर्किने क्रममा वडाध्यक्ष श्रेष्ठले हातपात गरेका हुन् । धनकुटा–६ सल्लेरीमा रहेको डम्पिङ साइडको खोल्सीमा बाटो ढुकेर कुटपिट गरेको उनले बताए । कुटपिटबाट कार्कीको देब्रे आँखाको माथिल्लो भागमा गम्भीर चोट लागेको छ भने शरीरका विभिन्न भागमा पनि चोट लागेको उनले ब्लाष्टकर्मीलाई बताए । 

उनीसँगै घर फर्किंदै गरेका कार्कीमाथि पनि प्रहार गरेका थिए । तर, उनी भागेर ज्यान जोगाएका थिए । कार्कीका अनुसार आफूमाथि पनि ढाडमा एक पटक प्रहार गरेको र थप हान्न खोज्दा भागेर ज्यान जोगाएका थिए । श्रेष्ठले आफूलाई रक्ताम्य हुने गरी कुटिसकेपछि हल्ला गरिस् वा प्रहरीलाई भनिस् भने मारिदिन्छु भन्दै धम्की दिएको बताए । 

ज्यान मार्ने गरी कुटपिट गरेको भन्दै शुक्रबार जिल्ला प्रहरी कार्यालय धनकुटामा निवर्तमान वडाध्यक्ष नरेश श्रेष्ठ र सिपु भनिने शिव पुजन साहसहित ४ जनाविरुद्ध लिखित उजुरी दिएको बताए । प्रहरीले घाइते कार्कीको घाउजाँच केस फारम जिल्ला अस्पताल धनकुटामा शुक्रबार गरेको बताएको छ । प्र्रहरीले घटनाको सम्बन्धमा अध्ययन गरी घटनाको निचोडमा पुगिने बताएको छ । 

यता आरोपित निवर्तमान वडाध्यक्ष श्रेष्ठले आफूले कोही कसैलाई पनि कुटपिट नगरेको दाबी गरे । उनले आफू रातको ८ बजे पार्टीको समीक्षा बैठकमा रहेको दाबी गरे । उनले कुटपिटको घटनामा आफ्नो कुनै पनि संलग्नता नरहेको ब्लाष्टलाई बताए ।