विराटनगर । उपचारको क्रममा फरार एक जना कैदी डेढ महिनापछि पक्राउ परेका छन् । 

विराटनगर महानगरपालिका–७ मा रहेको क्षयरोग उपचार केन्द्रबाट उपचारको क्रममा गत असोज १५ गते झापा–५ का २८ वर्षीय राजकुमार हेमरन फरार भएका थिए ।

फरार भएको डेढ महिनापछि उनलाई झापाको झापा गाउँपालिका–५ शरणामतीबाट बिहीबार पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । फरार भएपछि उनी गाउँघरमा लुकिछिपी बस्दै आएका थिए । प्रहरीले उक्त सूचना पाएपछि घरमै लुकिछिपी बसेको अवस्थामा साँझ ५ः२० बजेतिर पक्राउ गरिएको प्रहरीले बताएको छ ।

जबरजस्ती करणी मुद्दामा अदालतले हेमरनलाई १६ वर्ष कैद सजायको फैसला सुनाएको थियो । अदालतको फैसलापछि उनी विराटनगरस्थित जिल्ला कारागार मोरङमा सजाय भुक्तान गरिरहेका थिए । उनलाई अदालतले २०७५ सालमा दोषी ठहर गर्दै कैदको फैसला सुनाएको थियो । हेमरन क्षयरोगका बिरामी थिए । लागूऔषध मुद्दामा विचाराधीन रहेका झापा गाउँपालिका–३ का २८ वर्षीय मञ्जिल गुरुङ पनि हेमरनसँगै भागेका थिए ।

लागूऔषध मुद्दामा अदालतले २०७८ कात्तिक ५ गते पुर्पक्षका लागि कारागार चलान गरेका गुरुङलाई उपचारका लागि हेमरनसँगै क्षयरोग उपचार केन्द्रमा भर्ना गरिएको थियो । सल्लाह गरेर एकैपटक फरार बनेकोमा हेमरन मात्रै पक्राउ परेका हुन् । अझैसम्म फरार रहेका गुरुङविरुद्धको मुद्दाको फैसला भने हुन बाँकी छ । गुरुङको खोजी तीव्र पारिएको मोरङ प्रहरीले जनाएको छ ।