धरान । सर्वसाधारणसँग करोडको हाराहारीमा ठगी गरेको आरोपमा मोरङ सुन्दरहरैंचा नगरपालिका–१० का एक दम्पती पक्राउ परेका छन् ।

दम्पतीले सुनचाँदी पसल सञ्चालन गर्दै आएका थिए । कमला ज्वेलर्सका सञ्चालक दम्पती ४२ वर्षीय राजु विश्वकर्मा र ३८ वर्षीया कमला विश्वकर्मा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले पुष्टि गरेको छ ।

१७ प्रतिशत ब्याज दिने प्रलोभन देखाई सर्वसाधारणबाट ८२ लाख रुपैयाँभन्दा बढी ठगी गरेको उनीहरूमाथि आरोप छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार ८२ लाख ७४ हजार ६ सय २ रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सर्वसाधारणले इलाका प्रहरी कार्यालय बेलबारीमा ठगीविरुद्ध उजुरी दिएका थिए । दम्पतीलाई बेलबारी प्रहरीले पक्राउ गरेको हो । उनीहरू साउन १७ गतेयतादेखि फरार थिए । बचतकर्ताले रकम फिर्ता माग्न थालेपछि पसल बन्द गरी उनीहरू फरार भएका थिए ।

दम्पतीले ६५ जना सर्वसाधारणलाई ठगी गरेको उजुरी परेको छ । सर्वसाधारणलाई रकम जम्मा गर्दा पासबुक दिने गरेको प्रहरीले जनाएको छ । सोही आधारमा उनीहरूविरुद्ध ठगी मुद्दामा कारबाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।