विराटनगर । कर्मचारीको मिलेमतोमा आधा करोडभन्दा बढी घोटाला भएको मोरङको बूढीगङ्गा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा कार्यरत १० जना कर्मचारीलाई धरौटीमा छोडन अदालतले आदेश गरेको छ ।
मोरङ अदालतका न्यायाधीश राजेश्वर अर्यालको इजलासले पक्राउ परेका १० जना कर्मचारीहरूलाई बुधबार ५८ लाख ३० हजार रुपैयाँ धरौटीमा छोडन आदेश दिएको हो ।
अदालतको आदेशअनुसार सबैभन्दा बढी धरौटी हस्पिटलको रिसेप्सन बिलिङ एण्ड डिस्चार्ज विभागका इन्चार्ज मोरङको सुनवर्षी नगरपालिका–२ का २६ वर्षीय दुर्गाबहादुर विष्ट र सुनसरी इटहरी–४ का २४ वर्षीय अश्विन भट्टराईलाई तोकेको छ । उनीहरूलाई जनही २४–२४ लाख रूपैयाँ धरौटी अदालतले तोकेको मोरङ अदालतका सूचना अधिकारी सुबोध आचार्यले जानकारी दिए । उनीहरूको मिलेमतोमा हस्पिटलको ५७ लाख ९६ हजार १ सय ६० रुपैयाँ अपचलन गरेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको थियो । उनीहरूले नक्कली बिरामी खडा गरी घोटाला गरेको पाइएको छ ।
यस्तै स्वस्तिका श्रेष्ठलाई ५ लाख ४० हजार, सुशील पासवानलाई ३ लाख १ हजार, प्रभुनारायण चौधरीलाई ४० हजार, सुनिल पासवानलाई २० हजार, दीपेन्द्र तवदारलाई ३० हजार, किरण विश्वकर्मालाई ७० हजार, वसन्तकुमार रामलाई १० हजार र नारायण चौधरीलाई ६० हजार रुपैयाँ धरौटी रकम अदालतले तोकेको सूचना अधिकारी आचार्यले जानकारी दिए । बुधबार वादी र प्रतिवादीका कानून व्यवसायीहरूले बहस सकेपछि थुनछेक आदेश आएको हो ।
मोरङ अदालतमा दायर अभियोगमा उल्लेख भएको विवरणअनुसार विष्टले २३ लाख ६६ हजार ६ सय १७ रुपैयाँ, भट्टराईले २३ लाख ९० हजार ७ सय ३१ रुपैयाँ अस्पतालको रकम अपचनल गरेको खुलेको छ । यस्तै अस्पतालका अन्य कर्मचारीहरू स्वस्तिका श्रेष्ठले ५ लाख २६ हजार ७ सय ९१, सुनिल पासवानले १९ हजार ६ सय २७, प्रभुनारायण चौधरीले ३३ हजार ३ सय, सुशील पासवानले २ लाख ९८ हजार ५ सय ३, किरण विश्वकर्माले ६७ हजार ३ सय ३२, वसन्तकुमार रामले १० हजार र नर नारायण चौधरीले ५६ हजार ५ सय ७३ रुपैयाँ हिनामिना गरेको अदालतमा दायर भएको ठगी मुद्दाको अभियोग पत्रमा उल्लेख छ ।
हस्पिटलका कर्मचारीको मिलेमतोमा विराट टिचिङ हस्पिटलको ५ करोड रुपैयाँ हिनामनी भएको भन्दै कारबाहीको दायरामा ल्याउन मागसहित ३ कात्तिकमा मोरङ प्रहरीमा उजुरी दिइएको थियो । प्रहरीमा उजुरी परेपछि विष्ट र भट्टराईलाई सोही दिन पक्राउ गरेको थियो भने अन्य ८ जना पनि घोटालामा संलग्न देखिएपछि पछि पक्राउ परेका थिए । प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएपछि गत शुक्रबार उनीहरू विरुद्ध मोरङ अदालतमा ठगी मुद्दा दायर भएको थियो ।
घोटालामा संलग्न भएकामध्ये मुख्य नाइके विष्ट र भट्टराई रहेको बुझिएको छ । विष्टले चार वर्षदेखि र भट्टराईले दुई वर्षदेखि हस्पिटलमा काम गर्दै आएका थिए ।
बिरामी डिस्चार्ज भएपछि भुक्तानी गर्नुपर्ने रकम डिस्चार्ज काउन्टरको इन्चार्ज भएकोले विष्ट र भट्टराईले बुझ्दै आएका थिए । उनीहरूले लिएको रकम लेखा शाखामा बुझाउँदै आएका थिए । पछिल्लो समय केही महिनादेखि विष्ट र भट्टराईले बिरामीले दिएको रकम लेखा शाखामा नबुझाई आफै राखी करिब पाँच करोड हिनामिना गरेको हस्पिटलको दाबी थियो । पछि प्रहरीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान गर्दा ५७ लाख ९६ हजार रुपैयाँ घोटाला भएको तथ्य र प्रमाण प्रहरीले सङ्कलन गरेको छ ।
विष्ट र भट्टराईले दशजना हस्पिटलको कर्मचारीको युजर आइडी बनाएर हस्पिटलको रकम अपचलन गरेको देखिएको छ । भट्टराईले ‘आश्विन’ र विष्टले ‘दुर्गा’ नामको युजर आइडी बनाएर घोटाला गरेको प्रहरीले जनाएको छ । अर्काको युजर आइडी र पासवर्ड प्रयोग गर्दै बिरामीका आफन्तले अस्पतालका नाममा जम्मा गरेको धरौटीबापतको रकम अनधिकृत रूपमा फिर्ता दिएर, नक्कली बिरामी खडा गरी अस्पतालको आधिकारिक व्यक्तिबाट स्वीकृति नलिई बिरामीको खाताबाट अस्वभाविक रूपमा छुट देखाएर आर्थिक अपचलन गरेको हालसम्मको अनुसन्धानबाट खुलेको छ ।