सुनसरी । सुनसरीको सोनापुरमा रहेको बाबा उद्योगले भारतबाट अवैधरूपमा आयात गरिएको मैदा ल्याएर प्याकिङ गर्ने र बजार पठाउने गरेको रहस्य खुलेको छ ।
विराटनगरका उद्योगी सुरेश राठीले सञ्चालन गरेको उद्योगमा तस्करी भएर आएको ठूलो परिमाणको मैदा विराटनगर भन्सार कार्यालयले सोमबार राति बरामद गरेपछि यस्तो रहस्य बाहिर आएको हो । राठीको उद्योगअगाडिबाट विराटनगर भन्सार कार्यालयको गस्ती टोलीले दुईवटा ट्याक्टर र २ वटा मिनी ट्याक्टरमा लोड गरिएको १५ लाख मूल्यको ५ सय ५ बोरा मैदासहित पाँच जनालाई पक्राउ गरेको छ । भारतबाट अवैधरूपमा क्यारिङ गरी मैदा ल्याउने गिरोहका एक सदस्य पनि समातिएका छन् । भारतको बिहार राज्य नगरपतगञ्जका मोहम्मद रिजवानलाई पक्राउ गरेको हो । तस्करीको मैदा गन्तव्यसम्म पु¥याउन उनी चढेको डब्लु बी ०२ भी २३४० नम्बरको कार पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
उद्योगसम्म मैदा लैजाने चारजना चालकलाई पनि पक्राउ गरिएको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र ढुङ्गानाले जानकारी दिए । पक्राउ पर्नेमा सुनसरीको हरिनगर गाउँपालिका–७ का ३७ वर्षीय जमसेद आलम को.१ ख ३१४५ नम्बरको मिनी ट्रकका चालक हुन् । सो मिनी ट्रकमा भारतबाट तस्करी गरेर ल्याइएको मैदा लोड गरिएको थियो । त्यस्तै को.२ त १३०३ नम्बरको ट्याक्टरमा लोड गरिएको तस्करीको मैदासहित पक्राउ परेका चालक वर्ष २२ का नाजिर खान सुनसरीको हरिनगर गाउँपालिका वडा नं. ७ निवासी हुन् । सो ट्याक्टर पनि गस्ती टोलीले नियन्त्रणमा लिएको थियो ।
सुनसरीको हरिनगर गाउँपालिका वडा नं. ७ कै वर्ष १८ का असरफ अलीले चलाएको मे. १ त ७०५५ नम्बरको ट्याक्टरमा पनि तस्करीकै मैदा लोड गरिएको भन्सार कार्यालयले जनाएको छ । चालक अली र ट्याक्टर दुवै प्रहरी नियन्त्रणमा छन् । हरिनगरा–७ कै वर्ष २३ का फिरोज मियाँले को.१ ख २३७६ नम्बरको मिनी ट्रक चलाएका थिए । सो मिनी ट्रकमा पनि तस्करीकै मैदा लोड गरिएको थियो । गस्ती टोलीले मियाँसहित मिनी ट्रकसमेत नियन्त्रणमा लिएको छ ।
बरामद भएकोे मैदा सुनसरी र भारतको सीमाक्षेत्रमा पर्ने घुस्कीको नाकाबाट तस्करी गरेर ल्याइएको भन्सार कार्यालयले जनाएको छ । पक्राउ परेका पाँचै व्यक्तिले बाबा उद्योगमा मैदा पठाउने गरेको बयान दिएको कार्यालयको भनाइ छ ।
विराटनगर भन्सार प्रमुख ताराप्रसाद सापकोटाले पाँचै अभियुक्तलाई कार्यालयले बयान लिने प्रक्रिया सुरु गरेको जानकारी दिए । प्रमुख सापकोटाले आफ्नो नेतृत्वमा सोमबार रातभरि सुनसरीसित जोडिएको सीमाक्षेत्रमा भन्सार गस्ती टोलीले निरीक्षण गर्दा अवैध मैदा फेला परेको बताए ।
पक्राउ परेका पाँचै अभियुक्तलाई कार्यालयले भन्सार चोरी–पैठारीको मुद्दा चलाउने जानकारी दिए । भन्सार कार्यालय अर्धन्यायिक निकाय पनि भएकाले उक्त मुद्दा सोही कार्यालयमा दर्ता हुने र कार्यालयले नै कारबाही अघि बढाउने बताइएको छ । सूचना अधिकारी ढुङ्गानाका अनुसार चोरी–पैठारीका १ करोडसम्म बिगो भएका मुद्दा हेर्ने अधिकार भन्सार कार्यालयमै हुन्छ । सो बिगोभन्दा माथिका मुद्दा मात्र जिल्ला अदालतमा दर्ता गर्नुपर्छ ।
उनले पक्राउ परेको मैदा र भारतीय नम्बरको कार कार्यालयले जफत गरी लिलामी गर्ने तथा मैदा लोड गरिएका ढुवानीका साधनहरू भाडामा ल्याइएको पुष्टि भएमा छाडिदिने स्पष्ट पारे । भारत सरकारले गत वैशाख ३० गते गहुँ निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालका मैदा उद्योग कच्चा सामग्रीको तीव्र अभावमा छन् । अभाव पूर्ति गर्न यहाँका मैदा उद्योगहरूले क्यारिङमार्फत् तस्करी गरेर मैदा ल्याउने गरेका छन् ।
यता सशस्त्र प्रहरी बल सुनसरीका एसपी विक्रम हुमागाईंले चुनावको मौका छोपी प्रहरीको उपस्थिति कम भएको क्षेत्रबाट तस्करी भएको हुनसक्ने बताए । तस्करी हुन नदिन सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको उनले बताए । ‘खुला सीमाको फाइदा उठाएर चुनावको मौकामा प्रहरीको उपस्थिति कम भएको क्षेत्रबाट अवैध सामान निर्यात भएको हुनसक्छ’ उनले भने, ‘त्यसलाई हामी कडाइ गर्नेछौं ।’ सबैको प्रयासले मात्र चोरी तस्करी नियन्त्रण हुने उनले बताए ।