बिर्तामोड । बिर्तामोडको कृषिथोक बजारबाट बरामद गरिएको माहुर (मुङ्ग्री) हाईब्रिड माछा आइतबार नष्ट गरिएको छ ।

वडानम्बर ५ स्थित कृषिथोक बजारमा रहेको सुन्दर माछा पसलबाट बिक्री गर्दै गरेको अवस्थामा १ सय किलो माछा शनिबार साँझ बिर्तामोड नगर प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको हो ।

नेपाल सरकारबाट प्रतिबन्धित, मानव स्वास्थ्यलाई असर पुग्ने उक्त माछा कृषकहरूको सहयोगमा नगर प्रहरीले नियन्त्रणमा लिएको नगर प्रहरी प्रमुख किरण पाण्डेले जानकारी दिए ।

नियन्त्रणमा लिएको माछा आइतबार बिर्ताबजार नजिकै खाल्डो खनेर पुरिएको छ । नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौला, वडानम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकी, माछा उत्पादक कृषक मोहन शिवाकोटी, लक्ष्मीप्रसाद शिवाकोटी, कपिल न्यौपाने, मोहनसिंह राजवंशी, ज्ञानेन्द्र विमलीलगायत स्थानीयको रोहवरमा माछा नष्ट गरिएको छ ।

नगर उपप्रमुख सङ्ग्रौलाले यस प्रकारको प्रतिबन्धित माछा उत्पादन नगर्न कृषकहरूलाई आग्रह गरे । उनले अवैध र मरेका माछा बिर्तामोड नगरक्षेत्रभित्र बिक्री वितरण गरेको भेटिएमा कानूनअनुसार नगरले कारबाही गर्ने चेतावनी पनि दिए ।