धनकुटा । धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिका–३ गैरीगाउँका ६२ वर्षीय भगिश्वर लिम्बूको बुधबार बिहान हत्या भएको छ ।
उनलाई छिमेकी ४० वर्षीय तेजबहादुर लिम्बूले घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । हत्याको आरोपमा तेजबहादुरलाई प्रहरीले पक्राउ गरेको छ ।
बिहान उठेर घरभित्र चुलाको छेउमा बसिरहेका बेला आएका आरोपित तेजबहादुरले पछाडिबाट खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
तिहारमा माइत आएकी छोरीका लागि श्रीमती कमला लिम्बूले खाना बनाइरहेका बेला भगिश्वर पनि भर्खर उठेर गफ गर्दै चुलाको छेउमा बसिरहेका थिए ।
त्यही मौकामा तेजबहादुरले खुकरी प्रहार गरेको छिमेकी एवम् छथरजोरपाटी गाउँपालिकाका निवर्तमान अध्यक्ष शेरबहादुर लिम्बूले बताए । मृतक भगिश्वरको शव पोष्टमार्टमको लागि धनकुटा अस्पताल पठाइएको धनकुटाका प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए ।
घटनाको प्रारम्भिक अनुसन्धानबाट तेजबहादुर मानसिक रोगी भएको खुल्न आएको एसपी अधिकारीले बताए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।