धनकुटा । धनकुटा नगरपालिका–६ खाल्डेमा माईदेवी कृषि फार्मका तीनवटा गाईलाई अज्ञात समूहले मङ्गबार राति काटेर घाइते बनाएको छ ।

फार्म सञ्चालक टीकाराज कार्कीका अनुसार करिब साढे ११ बजे राति गाईहरू अचानक कराउन थालेपछि गएर हेर्दा गाईको खुट्टा काटिएको अवस्थामा पाएको बताए । कसले र किन काटेको हो भन्ने आफूलाई थाहा नभएको कार्कीले बताए ।

धारिलो हतियार प्रहारबाट घाइते भएका तीनवटा गाईमध्ये २ वटा लैनो र एउटा कोरलो रहेको उनले बताए । कार्की २०७३ सालदेखि फार्म सञ्चालन गरी दुग्ध व्यवसायमा संलग्न छन् । सो फार्मलाई धनकुटा नगरपालिकाले आर्थिक वर्ष ०७६/७७ मा ५ लाख अनुदान उपलब्ध गराएको थियो । नगरपालिकाको अनुदानबाट फार्मले खरिद गरेको प्र.१–०२–००२ स १८९९ नम्बरको टेम्पोमा पनि अज्ञात समूहले क्षति पुर्याएको उनले बताए ।

उनले राति नै प्रहरीलाई खबर गरी घटनाको यथार्थ विवरण जानकारी गराएका थिए । आफ्नो कसैसँग दुश्मनी र विवाद नभएको पनि उनले बताए । उनले आहारिसका कारण कोही कसैले घटना घटाएको हुनसक्ने आशङ्का गरे । प्रहरीले बुधबार बिहान पीडित कार्कीको गाई फार्ममा स्थलगत अनुगमनका साथै सर्जमिन मुचुल्का उठाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी नरेन्द्र कुँवरले बताए ।

प्रवक्ता कुँवरले घटनाको विषयमा प्रहरीले गम्भीर ढङ्गले अनुसन्धान सुरु गरेको बताए । घटनालगत्तै बुधबार बिहान एक स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिई पनि सामान्य सोधपुछ गरेर छाडेको छ । पीडित कार्कीले गाई काटिएको विषयमा जिल्ला प्रहरी कार्यालय धनकुटामा मङ्गलबार निवेदन दिएका छन् ।

अहिले कार्कीको गोठमा १२ वटा लैनो गाई छन् । कार्कीले दैनिक १ सय ८० लिटर दूध बिक्री गर्दै आएका छन् । उनको फार्ममा बाच्छाबाच्छीसहित २४ वटा गाई रहेका छन् । फार्ममा २ करोड लगानी गरेको सञ्चालक कार्कीले बताए ।