विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिका–२ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा कर्मचारीको मिलेमतोमा झण्डै एक करोड रुपैयाँ अपचलन भएको पाइएको छ ।
हस्पिटलको डिस्चार्ज बिलिङ काउन्टर इन्चार्ज मोरङको सुनवर्षी नगरपालिका–२ का २६ वर्षीय दुर्गाबहादुर विष्ट र सुनसरी इटहरी–४ का २४ वर्षीय अश्विन भट्टराईको मिलेमतोमा विराट टिचिङ हस्पिटलको रकम हिनामिना भएको पाइएको हो । हस्पिटलको पाँच करोड रुपैयाँ अपचलन भएको र घटनामा संलग्नलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन ३ कात्तिकमा विराट टिचिङ हस्पिटलले मोरङ प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो ।
उजुरी दिएपछि मोरङ प्रहरीले हस्पिटलका काउन्टर इन्चार्ज विष्टसहित दश जनालाई पक्राउ गरेको छ । प्रहरीले हस्पिटलका अन्य कर्मचारीहरू बूढीगङ्गा गाउँपालिकाका २८ वर्षीय सुनिल पासमान, २८ वर्षीय दीपेन्द्र तबदार, २१ वर्षीय करन विश्वकर्मा, २३ वर्षीय नरनारायण चौधरी, २६ वर्षीय सुशील पासवान, २७ वर्षीय प्रभुनारायण चौधरी र २३ वर्षीय वसन्तकुमार रामलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । पक्राउ परेका हस्पिटलका कर्मचारीहरूलाई प्रहरीले ठगी मुद्दामा मोरङ अदालतमा म्याद थप गरी अनुसन्धान सुरु गरेको उनले बताए ।
हस्पिटलले पाँच करोड रुपैयाँ अपचनल भएको निवेदन दिए पनि मोरङ प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानबाट ५७ लाख ९६ हजार १ सय ८० रुपैयाँ कर्मचारीहरूले अपचलन गरेको कागजपत्रहरू फेला परेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताए । ‘अहिलेसम्म ५७ लाख बढी अपचलन भएको युजर आइडीहरू फेला परेका छन् ।
थप घोटाला गरेको पनि हुन सक्छ । अहिले अनुसन्धानकै क्रममा छौं’–अनुसन्धानमा संलग्न एक अधिकारीले भने । घोटालामा संलग्न भएकामध्ये मुख्य नाइके विष्ट र भट्टराई रहेको बुझिएको छ । विष्ट चार वर्षदेखि र भट्टराई दुई वर्षदेखि हस्पिटलमा काम गर्दै आएका थिए ।
बिरामी डिस्चार्ज भएपछि भुक्तानी गर्नुपर्ने रकम डिस्चार्ज काउन्टरको इन्चार्ज भएकोले विष्ट र भट्टराईले बुझ्दै आएका थिए । उनीहरूले लिएको रकम लेखा शाखामा बुझाउँदै आएका थिए । ‘पछिल्लो समय केही महिनादेखि विष्ट र भट्टराईले बिरामीले दिएको रकम लेखा शाखामा नबुझाई आफै राखी करिब पाँच करोड हिनामिना गरेको देखिएको छ ।
हस्पिटलको पैसा आफैले लिई व्यक्तिगत खर्च गरी अस्पताललाई ठगी गरेको हुँदा निज कसुरदाराहरूलाई पक्राउ गरी सो कार्यमा अन्य कर्मचारी र बाहिरको मानिसको पनि संलग्न भएको हुनसक्ने भएकोले अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन माग गर्दछौं’–हस्पिटलले मोरङ प्रहरीमा दिएको जोहरीमा उल्लेख छ ।
विष्ट र भट्टराईले दशजना हस्पिटलको कर्मचारीको युजर आइडी बनाएर हस्पिटलको रकम अपचलन गरेको देखिएको छ । भट्टराईले ‘आश्विन’ र विष्टले ‘दुर्गा’ नामको युजर आइडी बनाएर घोटाला गरेको प्रहरीले जनाएको छ । शुक्रबार पक्राउ परेका अन्य ८ जना कर्मचारीको नामबाट बनाएको युजर आइडीबाट हस्पिटलको रकम अपचलन भएको देखिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
अर्काको युजर आइडी र पासवर्ड प्रयोग गर्दै बिरामीका आफन्तले अस्पतालका नाममा जम्मा गरेको धरौटीबापतको रकम अनधिकृतरूपमा फिर्ता दिएर, नक्कली बिरामी खडा गरेर र अस्पतालको आधिकारिक व्यक्तिबाट स्वीकृति नलिइकनै बिरामीको खाताबाट अस्वभाविक रूपमा छुट देखाएर आर्थिक अपचलन गरेको हालसम्मको अनुसन्धानबाट खुलेको छ । रकम हिनामिनाका सम्बन्धमा छलफल गर्न अस्पताल सञ्चालक समितिको बैठक गत कात्तिक ३ गते बसेको थियो ।
बैठकले लेखा परीक्षक मनोज अधिकारीलाई छानबिन गरेर प्रतिवेदन पेश गर्ने विज्ञका रूपमा नियुक्त गरेको थियो । कर्मचारीकै मिलेमतोमा अनियमितता गरिएको प्रतिवेदन तयार पारेर अधिकारीले कात्तिक १४ गते अस्पताललाई बुझाएका थिए । पक्राउ परेकामध्ये भट्टराईले १६ लाख रुपैयाँ हिनामिना गरेको प्रहरीसँग पनि स्वीकार गरेका छन् ।