विराटनगर । विराटनगरमा ६ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३८ वर्षीय सजन कामतलाई पक्राउ गरेको छ । विराटनगर–१२ घर भएका कामतलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । पक्राउ परेका कामत इलेक्ट्रिक मिस्त्री हुन् ।
कामतले घरमा कोही नभएको मौका छोपी ६ वर्षीया बालिकालाई कात्तिक ११ गते दिउँसो बलात्कार गरेको पीडितले मोरङ प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । पीडित बालिकाको बाबु ज्याला मजदुरी काम गर्दछन् । आमा नभएकोले घरमा बहिनीसँग बस्दै आएकी थिइन् । बलात्कार आरोपमा पक्राउ परेका कामत अविवाहित हुन् । ‘घरको विद्युत्मा समस्या आएपछि पीडित बालिकाको बाबुले कामतलाई बोलाई उनी काममा गएका थिए ।
विद्युत्मा आएको समस्याको हल गरेपछि घरमा एक्लै बसेकी नाबालिगमाथि जबरजस्ती करणी गरेछन्’ पीडित बालिकाका आफन्तले दिएको जाहेरीमा उल्लेख छ । पीडित बालिकाले कामतले बलात्कार गरेको छिमेकी आन्टीलाई सुनाएकी थिइन् । ती आन्टीले आफ्नो पतिलाई घटनाको विषय जानकारी गराएपछि बलात्कारको घटना विराटनगर–१२ को प्रहरी चौकी बखरीमा पुगेको थियो ।
पीडित बालिकाका बाबुले मोरङ प्रहरीमा १४ कात्तिकमा कामत विरुद्ध ‘जबरजस्ती करणी मुद्दा’ मा जाहेरी दिएपछि पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । ‘पीडितका बाबुले जाहेरी दिएपछि पक्राउ गरी अहिले अनुसन्धान सुरु गरिएको छ,’ उनले भने, ‘घटनामा संलग्नलाई पक्राउ गरी अहिले अनुसन्धान भइरहेको छ ।’ प्रहरीले बुधबार कामतलाई मोरङ अदालतमा जबर्जस्ती करणी मुद्दामा चार दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।
मोरङमा एकपछि अर्को गर्दै शृङ्खलाबद्ध रूपमा बलात्कारको घटना बढेर गएको छ । १६ भदौमा पनि विराटनगरकी १८ वर्षीया किशोरीमाथि फिल्मी शैलीमा सामूहिक बलात्कार भएको थियो । प्रेमीलाई ७ जना युवाले कब्जामा लिएर सामूहिक बलात्कार गरेका थिए । ती किशोरीलाई पाँचजना युवाले बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । बलात्कारमा ७ जनाको संलग्न रहेको प्रहरीले बताए पनि विराटनगर–४ इकराइका २९ वर्षीय सन्तोष मण्डलसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । चारजना अहिले पनि फरार छन् ।
मोरङमा चार वर्षमा ४ सय २८ वटा जबर्जस्ती करणी मुद्दा मोरङ अदालतमा दर्ता भएको छ । अधिकांश घटनामा नाबालिका तथा किशोरी बलात्कारको शिकारमा परेको प्रहरीले जनाएको छ । बलात्कारको घटनामा नातामा आफन्त पर्नेहरूबाट पनि बलात्कार हुने गरेको भेटिएको छ । मोरङ प्रहरीको तथ्याङ्कअनुसार बलात्कारका घटनामा ३० वर्षमुनीका बालिका र किशोरीहरू सबैभन्दा बढी बलात्कारको शिकारमा परेका छन् ।
आर्थिक वर्ष २०७५/०७६ मा १ सय ७ वटा जबर्जस्ती करणी मुद्दा दर्ता भएको मोरङ प्रहरीको तथ्याङ्कमा देखिन्छ । आर्थिक वर्ष ०७६/०७७ मा ९२ वटा मात्र बलात्कारको मुद्दा दर्ता भएकोमा ०७७/०७८ मा जिल्लामा जवरजस्ती करणाीको घटना ह्वात्तै बढेको छ । ०७७/०७८ मा १ सय २८ वटा जबर्जस्ती करणीको मुद्दा अदालतमा दर्ता भएको मोरङ प्रहरीका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
०७८/०७९ मा १ सय १ वटा जबर्जस्ती करणीको मुद्दा अदालतमा दर्ता भएको छ । चालु आर्थिक वर्षको असोजसम्म ३५ वटा मुद्दा दर्ता भइसकेको डिएसपी श्रेष्ठले बताए । जिल्लामा बलात्कारका घटना बढ्ने कारणबारे कुनै निकायबाट खोजी भएको देखिँदैन । प्रहरी अनुसन्धानले अभिभावक सचेत नहुनु, बढ्दो आधुनिकता, फेसबुक, युट्युबजस्ता सामाजिक सञ्जालको प्रयोग र हात हातमा मोबाइल र इन्टरनेटलाई प्रमुख कारणका रूपमा लिएको छ ।
यस्तै, मदिरा सेवन तथा अश्लील फिल्मलगायत सामग्री हेर्ने लत पनि अर्को कारण रहेको प्रहरीका अधिकारीहरू नै बताउँछन् । बलात्कारका घटना न्यूनीकरण गर्नका लागि जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरेको मोरङ प्रहरीका डिएसपी श्रेष्ठले बताए । प्रहरीले अवलम्बन गरिरहेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमले पनि यस्ता विकृति न्यूनीकरण गर्ने प्रयास गरिरहेको उनको भनाइ छ ।
‘मानवीय मूल्य र मान्यतासँगै नैतिकतामा पनि ह्रास आएकाले बलात्कारका घटना बढेको देखिन्छ’, उनले भने, ‘सामाजिक सञ्जालको बढ्दो दुरूपयोग पनि यसको कारण बनेको छ ।’ बलात्कारका घटना घरपरिवारकै सदस्यसँग जोडिएको उनले सुनाए बताए ।
बलात्कारजस्तो जघन्य अपराधका मुद्दामा न्याय पाउन असहज हुनु, आर्थिक र राजनीतिक चलखेलका कारण आरोपी सहजै छुट्नुलगायतले पनि बलात्कार गर्ने प्रवृत्ति हावी हुँदै गएको महिला अधिकारकर्मीहरूको भनाइ छ । ‘बलात्कारका आरोपी छाडिँदै गए भने अपराधीको मनोबल बढेर झन् घटना हुन्छ’, महिला अधिकारकर्मी विष्णु शर्मा भन्छिन्, ‘न्याय सम्पादन गर्नेदेखि राज्य र समाजका हरेक संयन्त्र जिम्मेवार बन्नु जरुरी छ ।’