विराटनगर । विराटनगरस्थित जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीको मृत्यु भएको छ । तेह्रथुमको आठराई गाउँपालिका–४ घर भएका ५४ वर्षीय मानबहादुर खपांगीको मृत्यु भएको निमित्त जेलर तुलसीराम भगतले जानकारी दिए ।
खपांगीलाई जिल्ला अदालत तेह्रथुमले २०७४ माघ ९ गते १० वर्ष कैद सजायको फैसला गरेको थियो । उनी अदालतबाट जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी हुन् । सजाय भुक्तानका क्रममा तेह्रथुम कारागारमा उनले २ वर्ष बिताइसकेका थिए ।
तेह्रथुमबाट २०७६ मंसिर २४ गते स्थानान्तरण गरेर मोरङ ल्याइएको निमित्त जेलर भगतले बताए । उनका अनुसार बिरामी परेपछि उपचारका लागि कात्तिक १२ गते बिहान विराटनगरस्थित कोसी अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा मंगलबार साँझ ६ः१० बजेतिर मृत्यु भएको जानकारी भगतले दिए ।