धरान । वैदेशिक रोजगारी अन्तर्गत पलाउ भन्ने देशमा लाने प्रलोभन देखाई ठगी गरेको पुष्टि भएका फरार अपराधीलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।
एक व्यक्तिबाट जनही ७ लाख रुपैयाँ लिई पलाउ नाम गरेको मुलुकमा लाने भन्दै ठगीमा संलग्न सुनसरी इनरुवा नगरपालिका–३ का ३४ वर्षीय राजीवजङ थापालाई नियन्त्रणमा लिएको हो । उनले १२ जना व्यक्तिबाट २०७३ सालमा जनही ७ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।
उनी युएस पलाउ जब सर्भिस प्रालिका सञ्चालक हुन् । उनले १२ जना व्यक्तिबाट ८४ लाख रुपैयाँ ठगी गरी फरार रहेकामा मङ्गलबार सुनसरीको विशेष प्रहरी टोलीले नियन्त्रणमा लिई जिल्ला अदालत सुनसरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी राजकुमार राईले जानकारी दिए ।
उनीविरुद्ध उजुरी परेपश्चात् वैदेशिक रोजगार न्यायाधीकरण काठमाडौँबाट २०७६ असार ८ गते फैसला गर्दै एक वर्ष ६ महिना कैद र एक लाख ५० हजार रुपैयाँ जरिबाना साथै बिगोबापत १ करोड २६ लाख रुपैयाँ तोकेको थियो । उनी त्यसपश्चात् फरार रहेका थिए ।
उनलाई इनरुवास्थित गाउँमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी जिल्ला अदालत सुनसरीमा फैसला कार्यान्वयनका लागि बुझाई क्षेत्रीय कारागार झुम्का पठाइएको छ । प्रहरीले आर्थिक वर्ष २०७९/८० को हालसम्म विभिन्न मुद्दाका १ सय ३२ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको जनाएको छ ।