विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–७ मावा खोला नजिक छुरा प्रहार गरेर  झापाको दमक नगरपालिका–१० आमबाडी १४ वर्षीय दियुस श्रेष्ठको हत्या आरोपमा प्रहरिले पाँच जनालाई पक्राउ गरेको छ ।

छठ पर्व हेर्न मावा खोलामा आएका बेला हत्या आरोपमा प्रहरीले सोमबार पाँच जनालाई पक्राउ परेको हो ।  प्रहरीले  घटनामा संलग्न  मोरङकाे उर्लाबारी नगरपालिका वडा नं.६ चन्द्रमा चौक बस्ने सरोज बस्नेत, सोहि ठाउँका सन्देश खवास,  सपन खत्री , मन्जिल माझी र  विकास तामाङ रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

घटनामा संलग्न एक जना फरार छन् । फरारको पनि खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ । दियुसलाई पूर्व रिसिवीको कारण चक्कु प्रहार गरि हत्या गरेको प्राराम्भिक चरणको अनुसन्धानबाट खुलेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

दियुसलाई सन्देशले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । अघिल्लो वर्षको छठ र केही दिन अगाडि दियुस र सन्देशको समुहबीच भनाभन भएको रहेछ । तेहि बिवादलाई लिएर झगडा हुँदा सन्देशसहितको समुहले चक्कु प्रहार गरेको खुलेको छ, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृले भने ।

छठ पर्व हेर्न मावा खोलामा आएका बेला आइतबार राति १०ः२५ बजेतिर दियुसमाथि छुरा प्रहार भएको थियो ।  छुरा प्रहारबाट घाइते भएका बालकलाई अस्पताल पुर्याएपछि मात्रै प्रहरीले घटनाको जानकारी पाएको हो । सुरुमा उपचारका लागि उर्लाबारीकै गोदावरी अस्पताल लगिएको थियो । त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगियो ।

उपचारका क्रममा सोमबार बिहान ४ः५० बजेतिर मृत्यु भएको मोरङ प्रहरीका डिएसपी  श्रेष्ठले जानकारी दिए । उनका अनुसार छुरा प्रहारबाट दियुसको बायाँ कोखादेखि तलको भागमा चोट लागेको थियो ।