सुनसरी । सुनसरीको छुट्टाछुट्टै स्थानबाट सशस्त्र प्रहरीले लागूऔषध र मदिरा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल बिओपी लौकहीबाट इन्स्पेक्टर जसबहादुर राई नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले कोसी गाउँपालीका वडा नम्बर १ स्थित दसगजा क्षेत्रबाट १३८ बोतल प्रतिबन्धित लागूऔषध बरामद गरेको हो । लागूऔषध कारोबारीले भारतबाट नेपालतर्फ बोरा ल्याउदै गरेको उक्त परिणामको लागूऔषध सशस्त्र प्रहरीलाई देखेपछि भागेका थिए ।
यस्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश भुटाहाबाट इन्स्पेक्टर भुपेन्द्रकाजी निरौलाको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर २ स्थित रहेको फुलचोकबाट भारतीय बजारबाट लुकाएर ल्याइएको प्रतिबन्धित लागूऔषध बरामद गरेको छ ।
को ३४ प ४१४७ नम्बरको अपाचे मोटरसाइकलमा ल्याउदै गरेको १२० पत्ता अर्थात २६८० वटा स्पास्मो प्रोक्सिभिन नामक लागूऔषध सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसैगरी सुनसरीको देवानगंज गाउँपालीका ५ स्थित साहटोल क्षेत्रबाट अवैध रूपमा नेपालबाट भारततर्फ BR 38 N 9675 नम्बरको भारतीय मोटरसाईकलमा लैजादै गरेको ३ कार्टुन मदिरा पनि बरामद गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक विक्रम होमागाईले जानकारी दिए ।
उक्त मदिरा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट साहेबगंजबाट इन्स्पेक्टर आशिष गैडाको कमाण्ड खटिएको मोबाईल गस्ति टोलीले बरामद गरेको हो ।