भद्रपुर । झापाको गौरादहमा सशस्त्र प्रहरीका अवकाशप्राप्त व्यक्तिको आफैले प्रहार गरेको गोलीबाट मृत्यु भएको छ ।

प्रहरीका अनुसार गौरादह नगरपालिका–८ स्थित जुरोपानीका ३५ वर्षीय विरेन साहले सुरुमा आफ्नो भतिज १५ वर्षीय हेमराज साहलाई गोली हानी घाइते बनाएपछि आफैलाई गोली प्रहार गरेका थिए ।

घरायसी विवादको क्रममा भतिजमाथि गोली प्रहार गरेपछि आफ्नै कन्चटमा गोली प्रहार गरेको पाइएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । प्रहरीका अनुसार मङ्गलबार साँझ ७ बजे विरेनले सामान्य घरायसी विवादको क्रममा उनका दाइ उमेश साहका छोरा हेमराजलाई आफ्नै घरअगाडि सानो चाइनिज (होम मेड) पेस्तोलले गोली प्रहार गरेका थिए ।

हेमराजको ढाडमा गोली लागेको थियो । घाइते भएका उनलाई तत्काल उपचारको लागि लाइफलाइन अस्पताल दमक लगिएको र त्यहाँबाट थप उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पठाइएको थियो ।

घटना भएलगत्तै घटनास्थल पुगेको इलाका प्रहरी गौरीगञ्जको टोलीले गोली हान्ने विरेनको खोजी गर्ने क्रममा घरदेखि १ सय मिटर उत्तरमा पर्ने सुकुना खोला किनारमा कन्चटमा गोली लागेको अवस्थामा उनलाई मृत फेला पारेको डीएसपी पाठकले बताए । मृतक विरेन सशस्त्र प्रहरीबाट अवकाशप्राप्त कर्मचारी भएको स्थानीयले जनाएका छन् । एक थान होम मेड पेस्तोल, दुई थान म्यागजिन र १४ राउन्ड गोलीसमेत फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा इलाका प्रहरी कार्यालय दमकका डीएसपी दिलिपकुमार गिरी र इलाका प्रहरी कार्यालय गौरीगञ्जका इन्स्पेक्टर जितेश दाहालको कमान्डमा खटिएको टोलीले थप अनुसन्धान अघि बढाएको जनाइएको छ ।