विराटनगर । अपहरण गरेको तिन दिनपछि अपहरणकारीले एक जना युवाको हत्या गरेका छन् । विराटनगर बसपार्कको एक होटेलमा १८ वर्षे युवाको हत्या भएको छ । हत्या हुनेमा सिरहा गोलबजार घर भएका १८ वर्षे अंशु सदा रहेका छन् ।
सदालाई अपहरण गरेर विराटनगरको न्यू अप्सरा गेष्ट हाउसको कोठा नम्बर १ मा हत्या गरेको प्रहरीले जनाएको छ । अपहरणकारीले सदालाई असोज २३ गतेदेखि अपहरण गरेर उक्त गेष्ट हाउसमा राखेका थिए । १ लाख रुपैयाँ फिरौती नदिँदा उनको हत्या भएको मोरङको प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए ।
सामान्य किसान परिवारका सदाका परिवार निम्न आर्थिक अवस्थाका हुन् । उनको हत्या २७ गते बेलुकै भएको कोइरालाको भनाइ छ । उनलाई इँटाले मुखमा हानेर कोठाभित्रै हत्या गरेपछि शवलाई बक्स पलङ भित्र हालेर भाग्ने कोसिसमा थिए ।
प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको विष्णु मण्डल, राजेश ठाकुर र विराटनगरका मनोज कार्की रहेका छन् । घटनाको थप अनुसन्धानका लागि प्रहरी घटनास्थलमै छ ।