भद्रपुर । झापाको टाघनडुब्बा नाकाबाट भित्र्याइएको अन्दाजी साढे ७ लाख रुपैयाँ मुल्य बराबरको बारुदजन्य पदार्थ (पटका) सशस्त्र प्रहरीले बरामद गरेको छ । दीपावली तथा छठ पर्वलाइ मध्यनजर गरी भारतको डिंंगल बैङ्क नाका हुदै नेपाल भित्र्याइएको पटका सशस्त्र प्रहरी बल सीमा सुरक्षा गण नम्बर २ झापाको टोलीले बरामद गरेको सो कार्यालयले जनाएको छ ।

नाकाबाट छिरेकोे पटका दिउँसै सुरुङ्गा तर्फ आउँदै  गरेको सूचना प्रहरीले जानकारी पाएसँगै गणका इन्सपेक्टर विभुराज दाहालको नेतृत्वमा गएको टोलीले कनकाइ नगरपालिका – ५ तुलसीबारीबाट मङ्गलबार दिउँसो पटका बरामद गरेको गणपति प्रदीप सि कार्कीले जानकारी दिए ।

भाडाको गाडी मार्फत मुख्य सडक तर्फ आउँदै गरेको सामानमा जगमग, खुर्सानी, झिरझिरे, फुलझरी लगायत विभिन्न प्रकारका  ११ बोरा पटका  बरामद गरिएको उनले बताए । बरामद गरिएका पटका विहिबार विहान सरोकारवालाहरुको रोहवरमा गण परिसरमा नष्ट गरिएको उनले जानकारी दिए ।

भारतको विहार राज्यमा अनुमति पाएको पटका नेपालमा भने प्रतिबन्धित रहेको छ । चाडपर्वहरुलाइ लक्षीत गरि नेपाल भित्र्याउने तस्करी धन्दामा लागेका कारोवारीले ४ महिना अघि नै  वाहिरी जिल्ला हुदै काठमाडौसम्म पुर्याउँने गरेका छन् । पछिल्लो समयमा बरामद हुने गरेका पटका भने स्थानीय  बजारका लागि ल्याउदै आइरहेका छन् ।

पटका भित्रिने झापाका विशेष नाकाहरु भद्रपुर, ज्यामीरगढी , पृथीवीनगर, पाठामारी, केचना, महेश्पुर, घेराबारी, झापा, टाघनडुब्बा, गौरीगञ्ज लगायतका नाका पर्दछन् । यी सवै नाकामा सशस्त्र र नेपाल प्रहरीको चेक पोष्ट खडा भएपनि अवैध गतिविधि भने चलिरहेको विभिन्न घट्नाक्रमले पुष्टी गरेको छ ।