विराटनगर । दशैं सकिएर तिहार नजिकिन लाग्दै गर्दा खुल्दा सीमाको फाइदा उठाउँदै भारतदेखि अवैध रूपमा नेपालतिर विस्फोटक पदार्थ पटेका भित्रने क्रम शुरु भएको छ ।
तस्करी धन्दामा लागेका गिरोहले प्रहरीको आँखा छल्दै मोरङ, सुनसरी र झापाको सीमावर्ती विभिन्न नाकादेखि पटेका भित्र्याउने गरेको पाइएको हो ।
मोरङमा मटेरुवा, दरैया, इस्लामपुर, रंगेली, डुमरिया, नोचालगायतको नाकादेखि भने सुनसरीको झण्टाबारी, हुक्सी, लौकी, अमरडुवालगायतका विभिन्न नाकाहरूदेखि अवैध रुपमा पटेका भित्र्न थालेको छ ।
भारतबाट ल्याउँदै गरेको ठूलो परिणामको पटका मोरङको रंगेली र विराटनगरबाट प्रहरीले बरामद गरेको छ । रंगेली नगरपालिका–४ चोप्राहा नाका हुँदै भित्राइएको २ लाख ७२ हजार रूपैयाँ बराबरको पटका मंगलबार दिउँसो बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार विभिन्न प्रकारका पटका १ सय ७ बण्डल बरामद गरिएको छ । त्यस्तै मारुती भ्यानमा राखेर ल्याउँदै गरेको पटका प्रहरीले विराटनगर महानगरपालिका–१२ बाट सोमबार साँझ बरामद गरेको छ ।
भारतबाट भन्सारले गरेर विद्युतीय सामान ल्याउँदै गरेको सूचनाका आधारमा नियन्त्रणमा लिन गएको प्रहरी टोलीले को १ च ३१७८ नम्बरको भ्यानलाई रोकेर जाँच गरेको थियो । भ्यानभित्र तस्करी गरेर ल्याइएको ५ लाख ७७ हजार मूल्य बराबरको विद्युतीय सामान र पटका फेला परेको डीएसपी श्रेष्ठले बताए । उनका अनुसार विद्युतीय सामान, पटका र भ्यानसहित चालक विराटनगर–१५ का ३९ वर्षीय धनकुमार भण्डारीलाई नियन्त्रणमा लिइएको छ ।
बरामद पटका प्रहरीले नष्ट गर्ने गरेको छ । ठूलाठूला आवाजमा पड्किने पटकाले ध्वनि प्रदूषण हुने गरेको छ । त्यसबाट निस्कने झिल्काले आगलागीका घटनासमेत हुने गरेको छ । मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले पटकको आवाजले कानमा असर गर्नुका साथै मानवीय र भौतिक क्षतिसमेत हुने बताए । पटका पड्काएर रमाइलो गर्न खोज्दा क्षति बेहोर्नुपर्ने र ध्वनिप्रदूषणसमेत हुने भएपछि भित्राउन नदिन सीमा क्षेत्रमा कडाइ गरिएको उनले बताए ।
‘पटकाको आवाजले ध्वनि प्रदूषण हुनुका साथै आगलागीका निम्तिन सक्छ । मानिसको शरीरका अंगमा क्षति पुग्छ,’ एसपी कोइरालाले भने, ‘मानवीय तथा भौतिक क्षति हुन नदिन पटकाको प्रयोगलाई निरुत्साहित गर्नुपर्छ । भारतबाट भित्रन नदिन सीमा क्षेत्रमा कडाइ गर्दै उच्च सतर्कता अपनाइएको छ ।’
तिहार लगायतका चाडपर्व र आगामी निर्वाचनलाई समेत लक्षित गरेर सीमा क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । भारतबाट भित्रने पटकाले निर्वाचनमा समेत सुरक्षा चुनौती थपिन सक्ने सुरक्षा विश्लेषण छ ।
नेपालमा तिहार लागेदेखि ठूला एकादशी पर्वसम्म पटेका, आतसबाजी लगायतका विस्फोटक पदार्थको व्यापार निक्कै राम्रो हुने गर्दछ । त्यही भएर तस्करी धन्दामा लागेका गिरोहले क्यारिङमार्फत भरिया प्रयोग गरि विराटनगरसहित पूर्वी सहरको बजारमा पुर्याउने गरेका छन् ।
नेपालमा तिहार तथा चाडपर्वको समयमा पटेका, आतसबाजी जस्ता विस्फोटक पदार्थ प्रयोग विक्री वितरण तथा किनमेल गर्न रोक लगाएपनि भारतबाट अवैध रुपमा नेपाल भित्रने गर्दछ । ठूला तथा साना आवाज निकाल्ने पटेकाको आवाजले कानमा असर गर्ने र त्यसबाट निस्कने आगोले आगलागी हुने तथा मानिसको शरिरको अंगमा चोट पुग्न सक्ने भएकोले प्रहरीले यसलाई प्रतिबन्ध लगाएको हो । नेपालमा यसको लुकिछिपी निक्कै व्यापार हुने गर्दछ । तिहार र छठ पर्वमा बढी प्रयोग गरिने यस्ता विस्फोटक पदार्थ नेपालमा चाडपर्वको बेला भित्रने गर्दछ ।