बिर्तामोड । दशैंमा तास खेल्ने क्रममा विवाद हुँदा आफ्नै साथीको हत्या गर्ने तीन जनालाई बिर्तामोड प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । घटनामा संलग्न एकजना फरार रहेका छन् ।
इलाका प्रहरी कार्यालय अनारमनीले सोमबार पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न तीन जनालाई सार्वजनिक गरेको हो । फूलपातीका दिन सँगै तास खेलेका ताप्लेजुङ सिदिङ्बा–४ सुरुमखिम घर भई बिर्तामोड नयाँ बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका २५ वर्षीय नविन्द्र गुरुङको हत्या भएको थियो ।
घटनामा संलग्न इलाम–१ घर भई नयाँ बसपार्कमा ताप्लेजुङ–इलाम होटल सञ्चालन गर्दै आएका ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, पाँचथर फिदिम–१२ घर भई बसपार्कमै ताप्लेजुङ–इलाम होटल सञ्चालन गर्दै आएका २१ वर्षीय अमृत आचार्य र पाँचथर फालेलुङ–७ घर भई सोही होटलमा बस्ने आचार्यकी श्रीमती २३ वर्षीया विमला राईलाई प्रहरीले सार्वजनिक गरेको हो ।
घटनामा संलग्न केही व्यक्ति फरार रहेको प्रहरीको भनाइ छ । प्रहरीले फरार रहेकाको पहिचान खुलाएको छैन । उनीहरूले घटनास्थलबाट १ सय ५० मिटर पूर्वमा लगेर शव लुकाउने प्रयास गरेका थिए । तास खेल्ने क्रममा विवाद हुँदा गुरुङलाई टाउको पछाडिको भाग र नाकमा हिर्काएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनको शव असोज १८ गते बिहान बसपार्कको ड्राइभिङ सेन्टरको पूर्व भागमा फेला परेको थियो ।
बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवरका अनुसार गुरुङको टाउकोमा लोहोरो र धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको छ । पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलले प्रहरीले घटनालाई प्राथमिकतामा राखेर अनुसन्धान गरेको बताए । उनले फरार एकजनाको खोजी तीव्र पारिएकोसमेत जानकारी दिए ।