सुनसरी । चाडपर्वलाई लक्षित गरी भारतीय बजारबाट तस्करहरूले पटका भित्र्याउने गरेका छन् ।
भारतीय बजारबाट लुकाएर जिल्लाका विभिन्न नाका हुँदै ठूलो मात्रामा तस्करहरूले पटकाजन्य पदार्थ भित्र्याउने गरेका छन् । खुला सीमा नाकाको फाइदा उठाउँदै तस्करहरूले सीमामा तैनाथ सुरक्षाकर्मीबाट लुकाईछिपाई ठूलो परिमाणमा पटका भिœयाउने गरेका हुन् ।
भुटाहा, घुस्की, कप्तानगञ्ज, अमडुवा, लौकही, साहेवगञ्ज, लाहीलगायतका नाकाबाट ठूलो परिमाणमा पटका भित्र्याउन तस्करहरू सक्रिय रहेकोे स्थानीय बताउँछन् । यसै क्रममा सशस्त्र प्रहरीले सुनसरीको देवानगञ्ज गाउँपालिका वडानम्बर ५ साहटोलस्थित सीमाक्षेत्रबाट ठूलो परिमाणमा पटका बरामद गरेको छ ।
बिओपी साहेवगञ्जबाट इन्स्पेक्टर आशिष गैडाको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले आइतबार राति दुई लाख दश हजार बराबरको झिरझिरे, फुलझरी, सुपरमी ग्राउण्ड चक्र आदि गरी विभिन्न किसिमका पटका नियन्त्रणमा लिएको हो । भारतीय बजारबाट लुकाएर ल्याइएको पटका नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीलगायतको उपस्थितिमा नष्ट गरिएको इन्स्पेक्टर गैडाले जानकारी दिए ।
केही दिनअगाडि सशस्त्र प्रहरीले सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित घुस्कीबाट तीन लाख बराबरको पटका बरामद गरेको थियो । भारतबाट अवैध रूपमा ल्याउँदै गरेको पटका सशस्त्र प्रहरीलाई देखेपछि छाडेर भागेको थिए । चाडपर्व नजिकिँदै गर्दा सीमावर्ती क्षेत्र हुँदै भारतीय बजारबाट लुकाईछिपाई पटकाजन्य पदार्थको तस्करी हुने क्रम बढेको स्थानीय बताउँछन् ।
लुकाईछिपाई भारतबाट भित्र्याइएको पटका जिल्लाका विभिन्न क्षेत्रबाट बरामद गरी नष्ट गर्दै आएको सशस्त्र प्रहरी बल सुनसरीका प्रमुख एसपी विक्रम हुमागाईंले जानकारी दिए । अति प्रज्वलनशील पदार्थको रूपमा रहेको पटकासहित तस्करी नियन्त्रणमा सीमामा सशस्त्र प्रहरी सक्रियतापूर्वक लागेको उनको भनाइ छ ।
‘खुला सीमाको फाइदा उठाउँदै केही व्यक्तिले लुकाएर त्यस्तो पदार्थ ल्याए पनि त्यस्तालाई बरामद गर्दै नष्ट गरिरहेका छौं’–एसपी हुमागाईंले भने । चाडपर्वमा माग बढ्ने हुँदा जिल्लाका सीमावर्ती क्षेत्र हुँदै भारतीय बजारबाट लुकिछिपी पटकाजन्य पदार्थको तस्करी हुने गरेको छ । भारतीय कारोबारीले भरियामार्फत् पटकाजन्य पदार्थ नेपाल पठाउने गरेका छन् ।
भारतीय बजारबाट बर्सेनि लाखौं मूल्य बराबरको पटका नेपाल भित्रिने गरेको छ । यसरी भित्र्याइने विभिन्न प्रकारका पटकाजन्य पदार्थ राजधानी काठमाडौंसहित विभिन्न ठाउँमा पठाउने गरिएको स्थानीय बताउँछन् ।