विराटनगर । प्रदेश १ मा आत्महत्याले विकराल रूप लिएपछि  आत्महत्या रोकथाम एवं नियन्त्रण गर्न विशेष अभियान सुरू भएको छ । 

१ नंं. प्रदेश प्रहरी कार्यालय विराटनगरले आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा प्रदेश १ मा आइतबारदेखि आत्महत्या रोकथाम एवं नियन्त्रणको लागि विशेष अभियान सुरू भएको हो । 

अभियान अन्र्तगत आइतबार विहान विराटनगरको रोडशेषचोकबाट वृहत र्याली निकालेको छ । रोडशेष चोबाट निस्किएको र्यालीले ट्राफिक चोकहुँदै जैन भवनमा पुगेको थियो । जैन भवनमा औपचारिक कार्यक्रम भएपछि अभियानको औपराचिक रूपमा शुभराम्भ भयो । आफुलाई माया गरौं, अमुल्य जीवन खेर नफालौं, साहसी हनुहोस्, बाँचुनहोस र आफ्नो समस्या समाधान गर्नुहोस्, आत्महत्या गर्नु पाप होलगायतको प्लेकाट बोकेर र्यालीमा सहभागि भएका थिए । 

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री  राजेन्द्र कुमार राईले समुदाय लक्षित कार्यक्रम, जनचेतना तथा मनोपरामर्शका माध्यमबाट आत्महत्या रोकथामको उपाय अवलम्बन गरिनुपर्ने बताए । सुन्दर जीवन अनाहाकमा खेर फाल्न हुँदैन भनेर मान्छेलाई सचेत गराउनु सबैको दायित्व भएकोमा उनले जोड दिए । मानिसको व्यवहारमा परिवर्तन ल्याएर स्वास्थ्य जीवन शैली अपनाउँदै सामाजिक जीवनलाई सुन्दर बनाउनतर्फ अभियान केन्द्रित हुनुपर्ने बताए । 

प्रदेश १ प्रहरी प्रमुख डीआईजी सुदीप गिरीले प्रदेश सरकारको सहयोगमा समुदायलाई लक्षित गरेर आत्महत्याविरुद्धको अभियान सुरु भएको बताए । प्रदेशमा आत्महत्याको अवस्था विकराल एवं भयावह बनेर गएकोले यसको रोकथाम र नियन्त्रणको लागि विशेष अभियान सुरु भएको बताए । ‘बेलैदेखि रोकथाम एवं नियन्त्रणमा चासो नदिए अवस्था थप असामान्य बनेर जाने देखिन्छ,’ उनले भने, ‘अभियान सञ्चालन गर्दै आत्महत्या गर्न हुँदैन र अमूल्य जीवनको सदुपयोग गर्नुपर्छ भन्ने सन्देश समुदायमा प्रवाह गर्ने योजना छ । आत्महत्यालाई निरुत्साहित बनाउन विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिन जरुरी रहेको छ ।’

समुदाय–प्रहरी साझेदारीलगायत प्रहरीका अन्य काम कारबाही र गतिविधिलाई पनि अभियानसँग जोडेर आत्महत्याविरुद्धका कार्यक्रमहरुलाई तीव्र रूपमा सञ्चालन गरिने डीआईजी गिरीको भनाइ छ । 

मिहीन ढंगले अध्ययन एवं अनुसन्धान गरी गहिराइसम्म पुगेर आत्महत्याको कारण पत्ता लगाउँदै नियन्त्रणको उपाय अवलम्बन गरिने गिरीले बताए । 

आत्महत्या रोक्न घरपरिवार र साथीभाइको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने उनी बताउँछन् । ‘मान्छे विभिन्न कारणले डिप्रेशनमा जान्छ । आफूलाई सम्हाल्न नसक्दा जीवन सामाप्त गर्नुबाहेक अरु विकल्प देख्दैन,’ डीआईजी गिरीले भने, ‘तर आफ्नो जीवन नै समाप्त गर्नु समस्या समाधानको उपाय हैन भनेर हामीले बुझाउन सक्नुपर्छ । मान्छेलाई आत्महत्याबाट टाढा राख्न उसको मनोबल दह्रो बनाउनतर्फ ध्यान दिनुपर्छ ।’ 

आत्महत्या रोकथामका लागि अभियान सञ्चालन गर्ने क्रममा कुनै मानसिक समस्या देखिएमा मनोचिकित्सकबाट काउन्सिलिङ गराउनुपर्छ भन्ने विषयलाई प्राथमिकताका साथ उठाइने उनले बताए । 

गिरीले सामान्य घटना वा परिस्थितिले मान्छेलाई आत्महत्यासम्म पु¥याउनु चिन्ताको विषय भएको बताए । आत्महत्या रोक्न मानिसमा सकारात्मक सोचको विकास गराएर प्रत्येक व्यक्तिको मनोवल दह्रो बनाउनकै लागि प्रहरीले अभियान थालेको उनले बताए ।

प्रहरीको अनुसन्धानले असफलता, बेरोजगारी, गरिबी, नाकारात्मक सोच, लागुऔषधको दुव्र्यसन, मदिरा सेवन, महत्वकांक्षा, प्रेममा धोका, सामाजिक सञ्जालको दुरुपयोग, छुवाछूत एवं अपहेलना, तनावपूर्ण घटना, कमजोर जीवन शैली, पारिवारिक कलह, अरुको सिको, अत्यधिक चिन्ता, अवैध गर्भधारण, बालबालिकालाई अभिभावकको बेवास्ता, वृद्धवृद्धामा उचित हेरचाहको कमी लगायतका कारणले आत्महत्या गर्ने क्रम बढेको देखाउँछ । 

उनका अनुसार भविष्यका बारेमा निराशाका कुरा गर्ने, आफैँप्रति घृणायुक्त कुरा गर्ने, एक्लै बस्न रुचाउने, परिवारका सदस्य तथा साथीभाइबाट टाढा बस्ने, अप्रत्याशीत रूपमा छटपटी हुने, व्यक्तिको हाउभाउ एवं व्यवहार तथा सामाजिक सञ्जालमा नैराश्यजनक स्टाटस लेख्ने आदि आत्महत्याका पूर्वसंकेतहरु हुन् । 

प्रहरीका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा मुलुकभर ५ हजार ९ सय ८३ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेको संख्या प्रदेश १ मा सबैभन्दा धेरै छ। एक वर्षमा १ हजार ४ सय ८९ जनाले प्रदेश १ मा आत्महत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । 

प्रदेश १ पछि लुम्बिनीमा १ हजार २ सय ९७, मधेसमा १ हजार १५, बागमतीमा ९ सय १, गण्डकीमा ६ सय ९७, सुदूरपश्चिममा ५ सय ७९, उपत्यकामा ५ सय २६ र कर्णालीमा २ सय ९० जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।