विराटनगर । कम मूल्याङ्कन गरी राजस्व छली गरेको आशङ्कामा प्रहरीले करिब २१ लाख बराबरको सामान बोकेको ट्याक्टर नियन्त्रणमा लिएको छ ।
विराटनगर भन्सारबाट जाँचपास भएर निस्किएको ट्याक्टर मोरङ प्रहरीले मङ्गलबार नियन्त्रणमा लिएको हो । विराटनगरको रोडशेष चौकबाट गिजर र खाद्यपूरक सामग्री बोकेको ट्याक्टर नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
प्रहरीले बी.आर. ३८ ई ७४२५ नम्बरको भारतीय ट्याक्टरमा लोड गरी ल्याउँदै गरेको सामग्रीहरू नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएको सामग्रीहरू भन्सारका कर्मचारी र एजेन्टको मिलेमतोमा कम मूल्याङ्कन गरी सामान आयात गरेको आशङ्का गरिएको छ । प्रहरीले नियन्त्रणमा लिएको सामानसहित ट्याक्टर राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ ।
मोरङ प्रहरीले पछिल्लो समय विराटनगर भन्सारबाट जाँचपास भएर निस्किएका सामग्रीहरू राजस्व छली गरेको आशङ्कामा नियन्त्रणमा लिँदै राजस्वमा बुझाउने गरेको छ । राजस्वमा बुझाएका पछिल्लो सामग्रीहरू आयातमा राजस्व छली भएको पनि पुष्टि भएको छ ।
प्रहरीले गत मङ्गलबार नियन्त्रणमा लिएको ३३ लाखको सामानमा राजस्व छली भएको पुष्टि भएको थियो । प्रहरीले विराटनगरबाट राजस्व छली भएको आशङ्कामा ३३ लाखको मोटर्सको पार्टपुर्जासहितको भारतीय नम्बर प्लेटको ट्याक्टर नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको थियो ।
राजस्व अनुसन्धान कार्यालयले गरेको अनुसन्धानबाट भन्सारले जाँचपास गरेर छोडेको सामानमा सन्दर्भ मूल्यभन्दा कम राजस्व दाखिला गरी एजेन्टमार्फत् भन्सार कर्मचारीको मिलेमतोमा राजस्व छली भएको पुष्टि भएको थियो । विराटनगरका ८ वटा फर्मले आयात गरेको उक्त सामानमा सन्दर्भ मूल्यभन्दा कम मूल्याङ्कन गरेको पाइएपछि २ लाख ५० हजार रुपैयाँ जरिबाना गरिएको राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख तीर्थराज खनालले जानकारी दिए ।
प्रहरीले गत शनिबार पनि विराटनगरबाट ट्रकसहित ३६ लाखको सामान आयातमा राजस्व छली गरेको आशङ्कामा नियन्त्रणमा लिएको थियो । उक्त सामान र ट्रक प्रहरीले अनुसन्धानका लागि राजस्व कार्यालय पठाएको छ । तर, सामान आयात गर्ने फर्म राजस्व कार्यालयको सम्पर्कमा नपुगेको कारण त्यतिकै रहेको छ । राजस्वले अनुसन्धान गर्नुअगि आयातकर्ता हाजिर भएपछि मात्र सामान खोलेर अनुसन्धान सुरु गर्ने गरेको छ ।
विराटनगर भन्सारबाट आयात हुने सामग्रीहरूमा एजेन्टले सामान ढुवानीकर्तासँग ‘सेटिङ’ मिलाएर भन्सारका कर्मचारीले सामानको मूल्याङ्कन कम गरिदिने तथा कम परिमाण देखाएर बढी सामान ढुवानीको व्यवस्था मिलाइदिने गरेको उल्लेखित घटनाक्रमले पनि पुष्टि हुने गरेको छ ।
भन्सारबाट जाँचपास भएर निस्किएका सामान लोड गरिएका ढुवानीका साधनलाई नियन्त्रणमा लिएर प्रहरीले बुझाएपछि राजस्वले अनुसन्धान अगि बढाउँदा कर्मचारीको मिलेमतोमा भन्सार छली भएको पुष्टि हुने गरेको छ । विराटनगर भन्सार कार्यालयले आयातका लागि योग्य भन्दै छाडेका धेरैजसो ढुवानीका साधन अचेल प्रहरीले नियन्त्रणमा लिँदै आएको छ ।
यसअगि भन्सारबाटै जाँचपास भएर निस्किएको आठ ट्रक सुपारी प्रहरीले नियन्त्रणमा लिएको थियो । सुपारीको जाँचपासलाई लिएर उच्चअदालत विराटनगरले प्रश्न उठाएको छ । यद्यपि राजस्व अनुसन्धान कार्यालयले अहिलेसम्म सुपारीको अनुसन्धान अगि बढाएको छैन ।
यसअगि भन्सार कार्यालयबाट निस्किएको सामानमा न्यून मूल्याङ्कन र भेइकल एन्ड कन्साइन्मेट ट्रर्याकिङ सिस्टम (भीसीटीएस) पनि नगरेको भेटिएपछि विराटनगरको शिवम् मोटर्स पार्ट्स र मारुती हार्डवेयरलाई राजस्व अनुसन्धान कार्यालय इटहरीले कारबाही गरेको थियो । भीसीटीएस नगरी सामान आयात गर्ने फर्मलाई ३ लाख र न्यून मूल्याङ्कन गरी भन्सार छली गरेको कसुरमा ३ लाख १८ हजार रुपैयाँ जरिबाना गरिएको छ ।
भदौ १३ गते साँझ भीसीटीएसमा गाडी नम्बर उल्लेख नगरी भन्सार जाँचपास गरेर यार्डबाट निस्किएको ३४ लाख मूल्यको कपडा, मोटर्सको पार्टपुर्जा र हार्डवेयरको सामान लोड गरिएको बीआर ३८ डी ३२४३ नम्बरको ट्याक्टरलाई सशस्त्र प्रहरीको रानी सीमा आउट पोष्ट (बीओपी) ले नियन्त्रणमा लिएको थियो ।
त्यसबेला
ट्याक्टर चालक पङ्कज यादव पनि पक्राउ परेका थिए । गत साउन पहिलो साता पनि
विराटनगर भन्सार कार्यालयका कर्मचारी र एजेन्टको मिलेमतोमा १८ लाख रुपैयाँ
राजस्व छली गरेको पुष्टि भएको थियो । राजस्व अनुसन्धान कार्यालय इटहरीले
कपडा र विभिन्न सामान बोकेका दुई ट्याक्टर नियन्त्रणमा लिएर अनुसन्धान
गर्दा १८ लाख राजस्व ठगी भएको पुष्टि भएको थियो । विराटनगर भन्सार
कार्यालयका सूचना अधिकारी राजेन्द्र ढुङ्गानाले जाँचपास भई निस्किएको
वस्तुमा कुनै पनि राजस्व छली नभएको दाबी गर्दै आएका छन् ।