धरान । धरान उपमहानगरपालिका–२० चिण्डेडाँडाभन्दा माथि एक वृद्ध महिलाको हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

घटना मङ्गलबार नै भए पनि बुधबार मात्रै जानकारी भएको प्रहरीले जनाएको छ । किनकि घरमा वृद्धा महिलामात्र एक्लै बस्ने गरेका कारणले घटनाको बारेमा ढिलो गरी जानकारी भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । ६५ वर्षीया पूर्णिमाया राईको हत्या भएको अवस्थामा शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले शवको पोष्टमार्टम साथै प्रारम्भिक अनुसन्धान सुरु गरिएको जानकारी दिए । उनका अनुसार घटनाबारे अहिले नै केही भन्न सक्ने अवस्था नभएको बताउँदै हाल अनुसन्धान भइरहेको जनाए ।

स्थानीयका अनुसार महिलाको हत्या लुटपाटको उद्देश्यले भएको हुनसक्छ । दुई वर्षअघि पतिको मृत्यु भएका कारणले उनी एक्लै बस्दै आएकी थिइन् । वृद्धा महिलाको चार छोरी र एक छोरा रहेका छन् ।

घटनास्थलमा तालिमप्राप्त कुकुर लगेर अनुसन्धान थालिएको छ । महिलाको सुन तथा नगद लुटपाट गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । ‘कानूनी प्रक्रिया हुँदै छ’ डिएसपी श्रेष्ठले भने, ‘अहिले नै केही भन्न सकिँदैन ।’