सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले एकदिनमै ६१ जना फरार प्रतिवादीहरु पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट फरार प्रतिवादीहरु पक्राउ अभियान अन्तर्गत खटिएको बिशेष टोलीले अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ६१ जना प्रतिवादीहरुलाई मंगलबार पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ् । उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीको लागि सुनसरी जिल्ला अदालतमा बुझाइएको छ ।
आर्थिक वर्ष २०७९/०८० को दुई महिनाको अवधीमा जिल्ला प्रहरी कार्यालय सुनसरीले अदालतबाट कैद तथा जरिवाना तोकेका १३० जना फरार प्रतिवादिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए । पक्राउ परेका प्रतिवादीहरुबाट २६ वर्ष आठ महिना ३ दिन कैद र चारलाख २० हजार ३४ रुपयाँ जरिवाना असुल गर्न सफल भएको सुनसरी प्रहरीले जनाएको छ ।
सुनसरी प्रहरीको फरारी पक्राउ अभियान अन्तर्गत अपराधीक घटना घटाई समाजमा निस्फिक्री हिड्ने प्रवृतिका विरुद्द लक्षित छ रहेको बताउदै एसपी ढकालले भने अपराध गरी जतिसुकै भागे पनि उन्मुक्ति पाउन सकिदैन वा कानूनी दायरावाट उम्कन सकिदैन भन्ने सन्देश यो अभियानले दिएको छ यो निरन्तर चल्ने अभियान हो ।
पक्राउ परेका फरार प्रतिवादीहरुमा कर्तव्य ज्यान, डाँका, अपहरण तथा शरिर बन्धक, कुटपिट, चोरी, किर्ते,जालसाजी, लागुऔषध, ज्यान मार्ने उद्योग, भ्रष्टचार आदीमा सजाय तोकिएकाहरु छन । विगतमा भारतमा लुकेर बसेका कतिपय अभियुक्तहरु कोभिड-१९ महामारीमा नेपाल फर्किएकाले पनि फरार अभियुक्तहरू पक्राउ गर्न प्रहरीलाई केही सहज भएको बताइएको छ ।
धेरै संख्यामा फरार अभियुक्त पक्राउ पर्नुको प्रमुख कारण प्रहरीको सक्रियता नै भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी ढकालको कथन छ । अपराध गरेपछि ढिलो(छिटो भएपनि सजाय भोग्नुपर्छ भन्ने सन्देश दिन फरार अभियुक्त पक्राउ अभियान चलाइएको उनले बताए ।