बिर्तामोड । तीनचक्के सवारी साधन बिक्रेता ‘नेपाल ट्रेड कन्सर्न’ द्वारा ठगिएको भन्दै अटो पिडितहरुले क्षतिपूर्तिको माग गरेका छन । आफुहरुलाई झुक्याएर गुणस्तरहीन अटो बिक्री गरि ठगी गरेको भन्दै उनीहरुले क्षतिपूर्तिको माग गरेका हुन ।
पीडितहरुको एक समुहले बिर्तामोडमा पत्रकार सम्मेलन गरी २०७५ सालमा बिर्तामोडको भद्रपुर बस स्टेण्डस्थित नेपाल ट्रेड कन्सर्नले बिक्री गरेको टुकटुक ब्राण्डको अटो खरिद गरेको बताए । बिmक्रेताले अन्य ब्राण्डहरु भन्दा गुणस्तरीय रहेको भनेपछि सो कम्पनिको अटो खरिद गरेको उनीहरुले बताए । खरिद गरेकै दिन अटो बिग्रिएको तथा आम्दानी भन्दा मर्मतमा बढी खर्च भएका कारण अटो नै बिक्रेतालाई जिम्मा लगाएको उनीहरुको गुनासो छ ।
नेपाल ट्रेड कन्सर्नले पियाजिओ कम्पनीको अटो दिने भनेर आफुबाट १ लाख ८२ हजार रकम लिएको तर हप्ता दिनपछि त्यति नै राम्रो छ भनेर गुणस्तरीय टुकटुक ब्राण्डको अटो आफुलाई बिक्री गरेको पीडित मध्येका बिर्तामोड–४ का दुर्गाप्रसाद सुबेदीले गुनासो गरे । अटो लैजाँदा लैजाँदै झिलझिले नपुग्दै बिग्रिएको उनको भनाई छ । अर्कैले फिर्ता गरेको अटो आफूलाई बिक्री गरेको पछिमात्र आफूले थाहा पाएको सुबेदीले बताए । नगद १ लाख ८२ हजारसँगै शोरुमले प्रथम बहुउद्देश्यीय सहकारीमार्फत फाइनान्स गराइदिएर शोरुमले अरु ४ लाख रुपैँयासमेत लगेको सुबेदीको भनाई छ ।
उनले अटो पटक पटक बिग्रने र भर्खरै किनेको अटोमा खर्च अत्याधिक आउन थालेपछि ६ महिनापछि अटो शोरुमलाई जिम्मा लगाएको बताए । लामो समय बितिसक्दापनि शोरुमले समस्या समाधान नगरेकाले आफू पिडित भएको बताए । शोरुम संचालक सुरेश साह र उमेश साहलाई समस्या समाधानका लागि पटकपटक आग्रह गर्दापनि नसुनेको, हाल कम्पनी नै बन्द गरेको र जे गर्न मन लाग्छ गर्नु भन्नेजस्ता गैह्रजिम्मेवार अभिव्यक्ति दिने गरेकाले क्षतिपूर्तिका लागि आफुहरु सम्बन्धित निकायमा पुगेको उनले बताए ।
हल्दिबारी–२ का किरण आचार्यको पनि गुनासो पनि सुवेदीको जस्तै छ । आचार्यलाई बजाज कम्पनिको यिपाजिओ अटो दिने भनेर १ लाख ८० हजार लिएको थियो । त्यो भन्दा राम्रो भनेर टुकटुक बिक्री गरेको आचार्यले बताए । अटो घर पुर्याएर केही बेरमा स्टार्ट गर्न खोज्दा नभएको र छिमेकीलाई बोलाएर हेर्दा ट्यांकी चुहिएको र पेट्रोल सकिएर स्टार्ट नभएको पाइएको उनले बताए । शोरुमबाटै फाइनान्सको सबै प्रक्रिया हुने सहकारीसँगको सम्झौतामा नियमित किस्ता नबुझाए अटो सहकारीले फिर्ता लिने उल्लेख गरिएको छ । अत्यन्तै बिग्रने र खर्च धान्न नसकेपछि सहकारीलाई नै अटो जिम्मा लगाएको बताए । उनले सहकारीमा १ लाख किस्तासमेत तिरेका थिए । अटोमा उल्टै रकम डुबेपछि आफू बिदेश गएको उनले बताए । सहकारीले ऋण तिर्न ताकेता गर्दा मात्र आफ्नो ऋण बाँकी रहेको थाहा पाएको आचार्यले गुनासो गरे ।
बिर्तामोड–३ का शतिस शाहले आफ्नो अर्को कम्पनीको सिटी, १ लाख ७० हजार नगद र सहकारीबाट ऋण लिएर किनेको अटो भोलिपल्टै बिग्रेको र कुदाउँदा कुदाउँदै १५ दिनपछि च्यासिस भाँचिएर दुर्घटना भएको बताए । घाइतेको उपचार खर्च समेत ऋण गरेर तिरेको उनले बताए । उनले कतैबाट कुनै किसिमको सहयोग आफुले नपाएको गुनासो गरे । दोस्रो पटकपनि च्यासिस भाँचिएपछि किनेको ३ महिना पछि नै शोरुमलाई अटो जिम्मा लगाएको शाहले बताए । शोरुमले हालसम्मपनि आफ्नो पैसा फिर्ता नगरेकाले ब्याज बढेर आफू ऋणमा डुबेको भन्दै शाहले आक्रोश पोखे ।
कार्यक्रममा अन्य पिडितहरु शिवानन्द राजबंशी कचनकवल–१, गंगादेवी बुढाथोकी शिवसताक्षी–१०, निराकुमारी खड्का अर्जुनधारा–१ र बिर्तामोड–८ निवासी दिपा ढुंगेल उपस्थित थिए । पिडितहरुले गुणस्तरहिन अटो आफुलाई शोरुमले झुक्याएर बिक्री गरेका कारण पैसा फिर्ता गर्नुपर्ने माग राखेका छन ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश समिति सदस्य कुबेर श्रेष्ठ, बासु दुलाल र जिल्ला कमिटी सदस्य कुशल आचार्यले सम्बन्धित निकायले पीडितहरुको समस्या सुन्नुपर्ने र न्याय दिनुपर्ने बताए । पीडितहरुको समस्या समाधानका लागि सबैले सहयोग गर्नु पर्ने उनीहरुले बताएका छन ।
यता शोरुम संचालक सुरेश साहले भने पिडितहरुले भने जस्तो अटो गुणस्तरहिन नभएको जिकिर गरे । टुकटुक भारतीय ब्राण्डको भएको र बिर्तामोडको सडकमा अहिलेपनि संचालनमा रहेको उनले बताए । मेसिनरी सामान पुरानो हुँदै जाँदा सामान्य समस्या आउने उनले दाबी गरे । शोरुममा केही बर्ष अघि आगलागी भएका कारण अहिले बन्द रहेको उनले बताए । तत्कालिन नेपाल ट्रेड कन्सर्न रहेको स्थानमा भने साहले मार्ट संचालन गर्दै आएका छन ।