पथरी । मोरङको कानेपोखरी–२ स्थित दलेलीमा रहेको शिक्षा विकास माविमा चोरी गर्ने दुई जना स्थानीय युवा पक्राउ परेका छन् ।
चोरीको आरोपमा वडानम्बर २, दलेलीका २० वर्षीय अजय सरदार र वडा नं. ३ राजगन बस्ने २८ वर्षीय प्रदीप चौधरीलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय पथरी र रमाइलो प्रहरी चौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको थियो । पक्राउ परेकालाई सोमबार नै इप्रका पथरीले सार्वजनिक गरेको छ ।
उनीहरूले आइतबार रातिको समयमा विद्यालयको कम्प्युटर कोठाको ताल्चा फुटाई ३ थान कम्प्युटर, दिवा खाजा खाने कोठाबाट ५ थान आरी, १० केजी चना र वुफरसहित चोरी गरेको प्रहरीले जनाएको छ । चोरी गरिएको सामानको २ लाख ५० हजार रकम अनुमान गरिएको इप्रका पथरीका डिएसपी वेदप्रसाद गौतमले बताए ।
चोरी गरी स्थानीय नन्दनी सरदारको घरमा लुकाई राखेको अवस्थामा प्रहरीले फेलापारेको थियो । पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय पथरीमा राखी अनुसन्धान गरिरहेको पथरी प्रहरीले जनाएको छ ।