धरान । जन्मकैद सजाय पाएका एक फरार अपराधीलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ ।
जिल्ला अदालत, उच्च अदालत हुँदै सर्वोच्च अदालतले जन्मकैद सजाय सुनाई फरार शिवसताक्षी नगरपालिका–८ का दिप्सन लावतीलाई पक्राउ गरी कारागार चलान गरेको हो । प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय झापाको टोलीले ३७ वर्षीय लावतीलाई बुधबार पक्राउ गरेको हो । दोषी रहेका लावतीले १ वर्ष ७ महिना २४ दिनसम्म जेल सजाय काटिसकेका छन् ।
२०६३ साल असोज ३ गते झापा जिल्ला अदालतले फैसला गरेको भए पनि पुनरावेदन परेपछि उच्च अदालतले २०६५ साल वैशाख १७ गते जन्मकैदको फैसला गरेको थियो । तर, पुनः पुनरावेदन गरेपछि सर्वोच्च अदालतले २०६५ फागुन २३ गते उच्च अदालत (तत्कालीन समयमा पुनरावेदन अदालत) ले गरेको जन्मकैदलाई नै अन्तिम फैसला गरेको थियो । तत्कालीन समयमा जन्मकैद २० वर्ष लगाइने नियम थियो ।
अझै पनि १८ वर्ष ४ महिना ६ दिन जेलमा बस्नुपर्ने जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी वसन्त पाठकले जानकारी दिए । उनलाई झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराई आदेशअनुरूप कैद भुक्तानका लागि जिल्ला कारागार चन्द्रगढी झापा पठाइएको छ ।