विराटनगर । अप्राकृतिक मैथुन र बाल यौन दुव्र्यवहार गरेको आरोपमा गैर सरकारी संस्था महासङ्घ (गैसस) मोरङका अध्यक्ष राजेन्द्र ढकाल पक्राउ परेका छन् ।
विराटनगर–१२ घर भएका ५० वर्षीय ढकालले सोही ठाउँका १३ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा मोरङ प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो । पक्राउ परेका ढकाललाई प्रहरीले बिहीबार मोरङ अदालतमा अप्राकृतिक मैथुन र बाल यौन दुव्र्यवहारको मुद्दामा मोरङ अदालतमा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । ढकालले ती बालकलाई पटक–पटक अप्राकृतिक मैथुन गरेको आरोप छ । ‘६ महिना अगाडि र १३ भदौमा घरमा कोही नभएको मौका छोपी ढकालले ती बालकलाई अप्राकृतिक मैथुन गरेका थिए । अप्राकृतिक मैथुन गरेको कुरा कसैलाई नभन्नु भन्दै डर, त्रास देखाएको कारणले ढिलो गरी परिवारलाई सुनाएको’ प्रहरीलाई दिएको जाहेरीमा उल्लेख छ । पीडितको उजुरी आएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको डिएसपी श्रेष्ठले बताए । ‘उजुरी आएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौँ’ डिएसपी श्रेष्ठले भने, ‘अहिले अनुसन्धान भइरहेको छ । थप विषय पछि खुल्नेछ ।’ ढकाल एजुकेसन हेल्पलाइनका अध्यक्षसमेत हुन् ।
कारबाहीको माग
मोरङका विभिन्न १८ वटा सङ्घ–संस्थाले अप्राकृतिक मैथुन र बाल यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका राजेन्द्र ढकाललाई कारबाहीको माग राखेका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग राखेका हुन् । बालबालिकाको क्षेत्रमा क्रियाशील सामाजिक संस्था, सङ्गठन र निकायको जिम्मेवारीमा रहेका व्यक्तिबाट यस्तो किसिमको निन्दनीय काम भएकोप्रति उनीहरूले दुःख व्यक्त गरेका छन् । ‘एक बालकमाथि अप्राकृतिक यौन शोषण तथा दुव्र्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी परी अनुसन्धानको लागि पक्राउ परेको घटनाले हामी सामाजिक सङ्घ–संस्थाका प्रतिनिधिहरू स्तब्ध भएका छौं । बालबालिकाको क्षेत्रमा क्रियाशील सामाजिक संस्था, सङ्गठन र निकायको जिम्मेवारीमा रहेका व्यक्तिबाट यस्तो किसिमको निन्दनीय काम भएकोप्रति हामी दुःख व्यक्त गर्दछौं । अतः आरोपित व्यक्तिमाथि प्रभावकारी अनुसन्धान गरी आवश्यक कानूनी कारबाहीको लागि सम्बन्धित निकायमा जोडदार माग गर्दछौं’ जारी विज्ञप्तिमा भनिएको छ, ‘आरोपित व्यक्ति गैरसरकारी संस्था महासङ्घ नेपाल जिल्ला शाखा मोरङको अध्यक्षसमेत भएकाले तत्काल अध्यक्ष पदबाट निलम्बन गरी कानूनी कारबाहीको लागि सहयोग गर्न गैरसरकारी संस्था महासङ्घ नेपाल केन्द्रीय समिति समक्ष समेत माग गर्दछौं ।’
यसरी विज्ञप्ति जारी गर्नेहरूमा माइती नेपाल, नारी विकास सङ्घ, मानव अधिकार तथा वातावरण मञ्च (फरेन), सामुदायिक विकास प्रयास नेपाल (प्रयास नेपाल), साना हातहरू नेपाल, एबिसी नेपाल, जागरण नेपाल, मानवअधिकार रक्षक परिषद्, सिविन नेपाल, ओरेक, आत्म निर्भरता अभियान (श्री) नेपाल, मानवअधिकार एलाइन्स जिल्ला शाखा मोरङ, मानवअधिकार सञ्जाल मोरङ, नेपाल ग्रामीण विकास समाज केन्द्र, साझा सवालका लागि साझा मञ्च (कोकन), महिला जागृति केन्द्र विराटनगर र बाल समाज नेपाल विराटनगर रहेको छ ।