भण्टाबारी । सीमावर्ती क्षेत्रमा तैनाथ भारतीय सीमा सुरक्षा बल (एसएसबी) लाई मानव बेचबिखनबारे प्रशिक्षण दिइएको छ ।

४५ औं बटालियन, कोकन नेपाल र भारतीय जनजागरण संस्थान पटनाको संयुक्त आयोजनामा उनीहरूलाई मानव बेचबिखनसम्बन्धी बुधबार प्रशिक्षण दिइएको हो ।

भारतीय ४५ औं, ५२ औं र ५६ औं बटालियनका गरी एसआई तहका ७४ जना भारतीय एसएसबी सहभागी थिए । एसएसबी ४५ औं बटालियन वीरपुरका सेकेन्ड कमान्डेन्ट आलोक कुमारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रमका सहभागीलाई कोकन नेपालका कोषराज न्यौपाने, मन्जिता उपाध्याय, हेमन्तराज पौडेल, भारतीय जनजागरण संस्थान पटनाका अध्यक्ष सञ्जय कुमारलगायतले मानव बेचबिखनको अवस्था, बेचबिखन हुनुका कारण, कानूनी जटिलता, रोकथामका उपायबारे प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा कोकन नेपालकी मन्जिता उपाध्यायले कोसी गाउँपालिका, नेपाल प्रहरी र प्लान इन्टरनेसनल नेपालको सहकार्यमा पछिल्लो पाँच वर्षयता विभिन्न १९ जिल्लाका १ सय ३३ जना व्यक्तिको उद्धार गरिएको बताइन् ।