बिर्तामोड । राजश्व चुहावट नियन्त्रणको जिम्मा पाएको शसस्त्र प्रहरीले नजरानाको लागि कुन तहसम्मको काम गर्छ भन्ने नयाँ प्रमाण फेला परेको छ । झापामा परिचालित शसस्त्र प्रहरीले अवैध रुपमा भारतबाट नेपाल ल्याइएका सामान बरामद गरेर भन्सार दाखिला नगरी बेपत्ता बनाएसँगै रकम लेनदेनपछि जस्तोसुकै काम गर्न पछि नपर्ने प्रमाण फेला परेको हो ।
कागजातका अनुसार सशस्त्र प्रहरीले पक्राउ गरेपछि भन्सार दाखिला गर्नका लागि मुचुल्का समेत गरेपछि सामान हराएको छ । साउन ९ गते सशस्त्र प्रहरीले बीआर ५० एच ६०८३ नम्बरको भारतीय कारसहित १५ लाख ४५ हजार ८१८ मुल्य बराबरको स्टेशनरी सामग्री बरामद गरेको थियो ।
सशस्त्र प्रहरीका सइ रमेशकुमार कुँवरको नेतृत्वको टोलीले भद्रपुर नगरपालिका–५ डिम्की चोकबाट अवैधानिक रुपमा ल्याएको किताबहरुसहित स्टेशनरी सामग्री बरामद गरेको थियो । बरामद सामग्रीको मुचुल्का गरेर कारवाहीको लागि मेची भन्सार कार्यालय बुझाउन तयार गरिएको पत्र ब्लाष्टले फेला पारेको छ । सो पत्र बमोजिमको सामग्री भन्सार दाखिला नभएको हो ।
बरामदी मुचुल्कामा शसस्त्र प्रहरी कार्यालय २ नम्बर गणका डिएसपी प्रेम प्रसाईँसहित १९ जना प्रहरीको नाम उल्लेख छ । कतिपय प्रहरी अधिकारीहरुको बैंक खाता नम्बरसमेत मुचुल्कामा उल्लेख छ । तर, यतिदिन बित्दापनि सो सामान भन्सार दाखिला नभएको पाइएको छ । मेची भन्सार कार्यालय प्रमुख केशबराज ओलीले भन्सारमा सशस्त्र प्रहरीले सो परिणामको कुनै सामाग्री दाखिला नगरेको जानकारी दिए ।
प्रहरीले बरामद गरेर मुचुल्का समेत भइसकेको सामग्री कहाँ गयो ? नाम उल्लेख नगर्न आग्रह गर्दै एकजना प्रहरी अधिकारीले भने ‘भन्सार आउँदा आउँदै ६ लाख रुपैयाँमा सेटिङ मिलेर सम्बन्धित मालधनीले त्यो सामान फिर्ता लगेका छन् ।’ उनले सशस्त्र प्रहरीले बिभिन्न समयमा पक्राउ गरेका अवैधानिक सामग्रीहरु सम्बन्धित सामानधनीसँग सेटिङ मिलाएर त्यसरी छोड्ने गरेको समेत बताए ।