बिर्तामोड । राजश्व चुहावट नियन्त्रणको जिम्मा पाएको सशस्त्र प्रहरीले नजरानाको लागि कुन तहसम्मको काम गर्छ भन्ने नयाँ प्रमाण फेला परेको छ ।

झापामा परिचालित सशस्त्र प्रहरीले अवैधरूपमा भारतबाट नेपाल ल्याइएका सामान बरामद गरेर भन्सार दाखिला नगरी बेपत्ता बनाएसँगै रकम लेनदेनपछि जस्तोसुकै काम गर्न पछि नपर्ने प्रमाण फेला परेको हो ।

कागजातका अनुसार सशस्त्र प्रहरीले पक्राउ गरेपछि भन्सार दाखिला गर्नका लागि मुचुल्कासमेत गरेपछि सामान हराएको छ । साउन ९ गते सशस्त्र प्रहरीले बीआर ५० एच ६०८३ नम्बरको भारतीय कारसहित १५ लाख ४५ हजार ८ सय १८ रुपैयाँ बराबरको स्टेशनरी सामग्री बरामद गरेको थियो ।

सशस्त्र प्रहरीका सइ रमेशकुमार कुँवर नेतृत्वको टोलीले भद्रपुर नगरपालिका–५ डिम्की चोकबाट अवैधरूपमा ल्याएको किताबहरूसहित स्टेशनरी सामग्री बरामद गरेको थियो । बरामद सामग्रीको मुचुल्का गरेर कारबाहीको लागि मेची भन्सार कार्यालय बुझाउन तयार गरिएको पत्र ब्लाष्टले फेला पारेको छ । सो पत्र बमोजिमको सामग्री भन्सार दाखिला नभएको हो ।

बरामदी मुचुल्कामा सशस्त्र प्रहरी कार्यालय २ नम्बर गणका डिएसपी प्रेम प्रसाईंसहित १९ जना प्रहरीको नाम उल्लेख छ । कतिपय प्रहरी अधिकारीहरूको बैङ्क खाता नम्बरसमेत मुचुल्कामा उल्लेख छ । तर, यतिका दिन बित्दा पनि सो सामान भन्सार दाखिला नभएको पाइएको छ । मेची भन्सार कार्यालय प्रमुख केशवराज ओलीले भन्सारमा सशस्त्र प्रहरीले सो परिमाणको कुनै सामग्री दाखिला नगरेको जानकारी दिए ।

प्रहरीले बरामद गरेर मुचुल्कासमेत भइसकेको सामग्री कहाँ गयो ? नाम उल्लेख नगर्न आग्रह गर्दै एक प्रहरी अधिकारीले भने, ‘भन्सार आउँदाआउँदै ६ लाख रुपैयाँमा सेटिङ मिलेर सम्बन्धित मालधनीले त्यो सामान फिर्ता लगेका छन् ।’ उनले सशस्त्र प्रहरीले विभिन्न समयमा पक्राउ गरेका अवैध सामग्रीहरू सम्बन्धित सामानधनीसँग सेटिङ मिलाएर त्यसरी छोड्ने गरेकोसमेत बताए ।