संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका–३ को मानेभञ्ज्याङमा आज बिहान पसल लुट्ने प्रयास गरेका छन् । नकावधारीहरुले २ बजे विहानको समयमा स्थानीय धराने साहु भनेर चिनिने ब्यापारी बिरेन्द्र भगतको पसल लुट्ने प्रयास गर्ने क्रममा प्रतिकार गर्दा तीन जना घाईते भएका छन् ।

प्रतिकार गर्ने क्रममा घाइते हुने २८ बर्षका सन्दिप भगत, ३७ बर्षकी तारादेवी श्रेष्ठ र ६२ बर्षकी निता श्रेष्ठलाई जिल्लला अस्पताल खाँदबारीमा उपचार गरि हाल अवस्था सामन्य रहेको जनाईएको छ । आक्रमणकारीले पसलमा चोरी गर्ने उद्देश्य राखि मूलढोकाको ताला फुटाएको र अर्को ढोकामा प्रहार गरिरहेको अवस्थामा पसलधनीले थाहा पाएर होहल्ला गर्दा उनीहरुमाथि आक्रमण भएको बताइएको छ । 

उक्त घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी प्रमुख डिएस्पी बिरेन्द्र गोदारले जानकारी दिए । मानेभञ्ज्याङका स्थानीयको सहयोगमा दुई जनालाई पक्राउ गरि अहिले मानेभञ्ज्याङ प्रहरी चौकीमा राखिएको उनले बताए । घटनामा ३ जना संलग्न रहको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उक्त घटनाका विषयमा थप अनुसन्धान भई रहेको छ ।